672 views 0 secs 0 comments

सभामुखले बोलाए संसद बैठक राष्ट्रपतिको आग्रहलाई अस्वीकार गर्दै

In विश्व
१७ कार्तिक २०७५, शनिबार १२:१७

कोलम्बो- श्रीलङ्काका सभामुख कारु जयासूर्यले संसद्को बैठक ७ नोभेम्बरका लागि आह्वान गरेका छन्। उनले शुक्रबार सांसदहरुसँग बैठक गर्दै आगामी ७ नोभेम्बरमा संसद्को बैठक बोलाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।रनिल विक्रमासिंघेलाई अपदस्थ गरी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नोभेम्बर १६ सम्मका लागि संसद् निलम्बन गरेका थिए। तर, सभामुख जयासूर्यले संसद बैठक चलाउने चेतावनी दिएपछि राष्ट्रपति सिरिसेनाले बिहीवार संसदकाे निलम्बन फुकुवा गरेका थिए। निलम्बन फुकुवा गरेपछि शुक्रवार सांसदहरूसँग परामर्श गरी सभामुख जयासूर्यले नाेभेम्बर ७ तारिखमा बैठक अाह्वान गरेका हुन्।

प्रधानमन्त्रीमा राजपाक्षे नियुक्तिसँगै श्रीलङ्कामा राजनीतिक सङ्कट गहिरिएको थियो। विक्रमासिंघेले आफू नै प्रधानमन्त्री भएको र आफूले संसदबाट विश्वासको मत लिने बताएपछि राष्ट्रपति सिरिसेनाले संसद् नै निलम्बन गरिदिएका थिए।

संसद्मा प्रतिनिधित्व गर्ने ११८ जना सदस्यसँग शुक्रबार सभामुख जयासूर्यले बैठक गरेकाे सभामुखका एक जना प्रवक्ताले जानकारी दिएका छन्। श्रीलङ्काको संसदमा २२५ सदस्य छन्। प्रवक्ताले भने, “बहुमत सदस्यहरु (११८) जनासँग सभामुखले शुक्रबार बैठक गर्नुभएको छ र बहुमत सदस्यहरुले संसदको बैठक बोलाउन आग्रह गर्नुभएको छ, त्यसैले सभामुखले संसद् बैठक बोलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।”

“यति धेरै संसद् सदस्यले आग्रह गरेपछि उहाँहरुको आग्रहलाई सभामुखले नकार्न मिल्दैन, त्यसैले नोभेम्बर ७ मा संसद् बैठक बोलाउने तयारी गर्नुभएको छ”, प्रवक्ताले भने। तर राष्ट्रपति सिरिसेनाले भने संसदको बैठक नबोलाउन सभामुखलाई अाग्रह गरेका थिए। सभामुखले उनको आग्रह अस्वीकार गर्दै संसद्को बैठक बाेलाउने तयारी गरेका हुन्।

श्रीलंका

राजनीतिक_संकट

संसद_बैठक