नेकपा सांसदको उग्र रूपः अरिङ्गाल बनेर जाइलाग्ने हुंकार…

In राजनीति
७ आश्विन २०७५, आईतवार १९:३१

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई अरिङ्गाल बनेर विरोधीमाथि जाइ लाग्न निर्देशन दिएको असर संसदमा देखिएको छ । केही दिनको अन्तरमा ओलीले पहिले अरिङ्गाल बन्न निर्देशन दिए भने पछि माहुरी बन्न कार्यकर्तालाई निर्देन दिएका थिए ।

माहुरी बन्न निर्देशन दिएको एकदिन पछि आइतबारको राष्ट्रिय सभा बैठकमा एकजना नेकपा सांसदले अरिङ्गाल रूप धारण गर्ने भन्दै आक्रामक शैली देखाए । नेकपा सांसद रामनारायण विडारीले अरिङ्गाललाई नजिस्क्याउन र गोलामा ढुंगा नहान्न प्रतिपक्षी दललाई चेतावनी दिए र भने ‘आइलाग्ने माथि अरिङ्गाल भएर हामी जाइ लाग्नेछौं ।’

विडारीले कांग्रेस पार्टीको नाम त लिएनन्, तर त्यो पार्टीलाई भेँडाको संज्ञा दिए । उनले भने ‘भेँडो भन्ने पशु हुन्छ नि, त्यस्तो पार्टी हाम्रो हैन, हामी अरिङ्गाल जस्ता हौं, माहुरी जस्ता हौं ।’

निकै आक्रामक अभिव्यक्ति दिएका विडारीले नजिस्क्याएसम्म अरिङ्गाल चुपचाप बस्ने तर आइ लागे जाइ लाग्ने भन्दै नेकपालाई नजिस्क्याउन चेतावनी दिए ।