679 views 1 sec 0 comments

अर्कैलाई रोजेको भन्दै प्रेमिकामाथि एसिड प्रहार,उपचारको क्रममा मृत्यु

In देश
२४ माघ २०७३, सोमबार १३:१८

काठमाडौं,माघ २४ – आफुलाई छोडेर अर्कैलाई रोजेको भन्दै रुपन्देहीको बुटवलमा एक युवकले युवतीमाथि एसिड प्रहार गर्दा ज्यान गएको छ । गम्भीर घाइते भएकी नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा सोमबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

धादिङ नौबिसे–१ का २८ बर्षिया सुनिल कोइरालाले नवलपरासी गौंडाको–५ की २७ वर्षिया तुलसा सापकोटालाई आइतबार बुटवल-६ स्थित मेरिडियन होटलमा बसेका बेला एसिड प्रहार गरेका थिए । एसिड प्रहारपछि गम्भीर अवस्थामा रहेकी उनलाई शुरुमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार गरी थप उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा लगिएको थियो। मेडिकल कलेजले अवस्था गम्भीर रहेको भन्दै काठमाडौंको बर्निङ सेन्टरमा रिफर गरेको थियो।

केही समयदेखी उनीहरु प्रेम सम्बन्धमा रहेको र पछि तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले मध्यरातमा एसिड हानेको बताएका छन् । एसिड प्रहार पछि युवती चिच्याएपछि होटलका स्टाफहरुले युवकलाई ढोका बन्दगरि समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको उनको बयान दिएको प्रहरीले बताएको छ ।

तुलसाको अनुहार, टाउको र शरिरमा एसिड लागेको थियो ।  प्रहरीले सोही होटलमा बसेकी सुनिलकी सानीआमा काठमाडौं ७ चाबहिलकी ४० वर्षीया देवी खरेललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। सुनिल र तुलसा ३ वर्षदेखि विदेशमा सँगै बस्दै आएको र सोही सम्बन्धमा आएको खटपटका कारण योजनाबद्ध तरिकाले एसिड प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ।