काभ्रेपलाञ्चोक । रक्षामन्त्री भीमसेनदास प्रधानले राजनीतिमा लागेका नेताहरूले आफ्नो स्वार्थ अनुकुलमा रहेर काम गरेका कारण मुलुकले स्थायित्व, समृद्धि र विकास पाउन नसकेको बताएका छन्। शनिबार काभ्रेपलाञ्चोकको पनौतीमा पनौती जेसिजको ‘२०औँ संयुक्त पद हस्तान्तरण, व्यक्ति सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा बोल्दै मन्त्री प्रधानले स्वार्थ भावना त्यागेर अगाडि बढ्न सक्नुपर्ने बताए। उनले ७० वर्ष कटेका नेताहरूले राजनीतिक पद लिन नहुने समेत बताए। ‘त्यो समय भनेको आराम गर्ने र अरूलाई सल्लाह दिने समय हो’, उनले भने, ‘७० कटेका नेताले कुनै पनि चुनावमा उठ्न नपाउने र रिटायर हुने विधानमा नै व्यवस्था गर्नुपर्छ।’ उनले पछिल्लो समयमा कांग्रेसभित्र नातावाद हावी हुँदै गएको उल्लेख गर्दै त्यस्तै प्रवृत्तिका कारण निर्वाचनमा धेरैजसो हार ब्यहोर्नुपरेको बताए। त्यसको लागि एक अर्कामा सम्मान गर्दै अगाडि बढ्ने भावना जेसीजबाट नेताहरूले सिक्नुपर्ने उनको भनाई छ। पछिल्लो अवस्थामा प्राय मानिसमा मानविय मूल्य, मान्यता, सद्भाव र बन्धुत्व हराउँदै गएको बताउँँदै राजनीति गर्नेहरूले यी कुरामा ख्याल गर्नुपर्ने धारणा राखे।