पोखरा : मिटरमा नचलाएको भन्दै प्रहरीले मंगलबार १८ जना चालक र ट्याक्सीलाई नियन्त्रणमा लिएपछि चालक तथा व्यवसायी विरोधमा उत्रिएका छन्। बुधबार चल्तीको मुख्य चोक पृथ्वीचोकमा ट्याक्सीको ताँती लगाएर उनीहरुले सडक जाम गरेका छन्।
ट्याक्सी मिटरमा चलेका छन्/छैनन् भनेर मंगलबार अप्रेसन गर्ने क्रममा ती १८ जना र ट्याक्सी समातिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए।
५ वर्षदेखि एउटै भाडादरका कारण मिटरमा चलाउँदा घाटा व्यहोर्नुपरेको ट्याक्सी व्यवसायीहरुको भनाइ छ। भाडा समायोजन नगरी मिटरमा चलाउन भन्नु अन्याय भएको पोखरा ट्याक्सी व्यवसाय समितिका सचिव तुलसी दाहालले बताए।
‘नगर बसमा एकजना चढ्नासाथ १४ रुपैयाँ लाग्छ, ट्याक्सीमा ४ जना चढे पनि १४ रुपैयाँमात्रै छ’, उनले भने। उनले एक किलोमिटर गुड्दा ३७ रुपैयाँ ट्याक्सीमा उठ्ने र प्रतिपल्स ७ रुपैयाँ चढ्ने जानकारी पनि दिए। मंगलबार ट्याक्सीमा जाम पनि नभनी एकाएका सिभिल ड्रेसमा आएका प्रहरीले गुन्डागर्दी शैलीमा चालकहरुलाई पक्रेको आरोप दाहालले लगाए।
एसपी सिंहले मिटरमा नचलाएर ट्याक्सीवालाहरुले उपभोक्तालाई ठगिरहेको बताएका छन्। ‘उपभोक्ता ठग्न पाइँदैन, जो जो पक्राउ परेका छन्, तिनलाई यातायात ऐनअनुसार कारबाही हुन्छ’, उनले भने, ‘चक्काजाम गर्नेहरुलाई पनि पक्रन्छौं, कारबाही गर्छौँ।’ मंगलबार समातिएकाहरुलाई यातायात व्यवस्था कार्यालय पठाएको जानकारी पनि उनले दिए।
बुधबार बिहान १० बज्नुअघिदेखि ट्याक्सी सडकमै तेर्स्याएर चालक तथा व्यवसायी आन्दोलित भएका हुन्। विद्यालय, कार्यालय र व्यवसायका लागि हिँडेका गाडी सवारहरुले ट्याक्सीको चक्काजाममा फसेर दुख पाए।