काठमाडौं। ‘राजनैतिक स्थिरता’को नारा लिएर चुनावी मैदानमा गएको बाम गठबन्धनलाई जनताले दिएको मतको अवमूल्यन हुने खतरा बढेको छ। सँगसँगै मिलेर सरकार चलाउनेदेखि पार्टी एकतासमेत गर्ने भनेर मत मागेको गठबन्धनलाई जनताले पनि त्यही विश्वासमा मत दिएका थिए। बाम गठबन्धनले मिलेर देश बनाउने र राजनैतिक स्थिरता ल्याउने बाचा गर्दा जनताले पत्याएका हुन्। तर, पछिल्लो समय जनताको त्यो विश्वासमाथि घात हुने ‘खतरनाक’ संकेतहरु देखिएका छन्।
सहयात्री दलका शीर्ष नेताहरुको बोली फरक पर्नुले गठबन्धनको अविश्वास छताछुल्ल भएको छ ।
हिजो नवलपरासीमा माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाए। प्रचण्डले एमालेमाथि आरोप मात्र लगाएनन् उनले अप्रत्यक्ष रुपमा एमालेलाई धम्कीसमेत दिए। प्रचण्डले सांकेतिक रुपमा आफूलाई पनि पाँच वर्ष सरकार चलाउन कांग्रेसले समर्थन गर्ने आश्वासन दिएको खुलाए। प्रचण्डको यो खुलासा एमालेलाई अप्रत्यक्ष रुपमा चेतावनी थियो। एमालेले माओवादीलाई छाडेर सरकारमा जाने प्रयास गरे आफूसँग पनि सत्तामा जाने विकल्प रहेको प्रचण्डले संकेत गरेका हुन्। उनले एमालेलाई सांकेतिक रुपमा ‘तिमीहरु हामीलाई छाडेर एक्लै सत्तामा जान खोज्छौ भने हामी पनि कम छैनौं’ भनेर तर्साएका हुन् ।
प्रचण्डको यो भनाइले बाम गठबन्धनभित्र अविश्वास बढ्दै गएको प्रस्ट पार्छ। एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्ने अडान दोहो¥याइरहँदा हिजो दाङमा माओवादी नेता कृष्णबहादुर महराले भने ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक व्यक्ति हुन्छ ।’ दुई सहयात्री दलका शीर्ष नेताहरुको बोली फरक पर्नुले गठबन्धनको अविश्वास छताछुल्ल भएको छ । यो अविश्वासको वातावरणले देशमा स्थिर सरकारको अपेक्षा गरेका जनताको मतादेशमाथि अन्याय गर्ने संकेत देखिएको छ।
एमालेले माओवादीलाई छाडेर सरकारमा जाने प्रयास गरे आफूसँग पनि सत्तामा जाने विकल्प रहेको प्रचण्डले संकेत गरेका हुन्।
निर्वाचन परिणामले देखाएको छ –जनताले स्थिर सरकार चाहेका हुन् । बाम गठबन्धन चुनावमा जाँदा उनीहरुको मुख्य एजेण्डा नै ५ वर्षको स्थिर सरकार र त्यो सरकारमार्फत देशमा समृद्धि ल्याउने थियो । एमाले माओवादीले गर्छौं भने, जनताले पत्याए । त्यतिबेला केपी ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष हुने चर्चा थियो । चुनाव प्रचारप्रसारका क्रममा चुनावपछि ओली प्रधानमन्त्री हुने भनेर स्वयं प्रचण्डले नै भनेका थिए। ओली स्वयंले पनि आफू प्रधानमन्त्री हुने उद्घोष गरेका थिए। चुनावी अभियानमा प्रचण्डले कहिल्यै आफू प्रधानमन्त्री हुन्छु भनेनन् । यसको अर्थ उनी पनि ओलीलाई नै प्रधानमन्त्री बनाउन चाहन्थे ।
प्रचण्डलाई एकीकरणपछिको पार्टी अध्यक्ष बताइरहँदा ओलीले कहिल्यै होइन भनेनन्। ‘मौनम् स्वीकृति लक्षणम्’ भनेझैं ओलीको मौनतालाई सहमति बुझियो ।
चुनावी अभियानकै क्रममा एमालेकै कतिपय शीर्ष नेताले एकीकरणपछि प्रचण्ड पार्टी अध्यक्ष हुने बताएका थिए । प्रचण्ड पार्टी अध्यक्ष हुने चर्चा देशैभरी फैलिएको थियो। आफ्नै पार्टीका नेताले प्रचण्डलाई एकीकरणपछिको पार्टी अध्यक्ष बताइरहँदा ओलीले कहिल्यै होइन भनेनन्। ‘मौनम् स्वीकृति लक्षणम्’ भनेझैं ओलीको मौनतालाई सहमति बुझियो । दुई दलका कतिपय नेताले त त्यही बुझे नै जनताले पनि प्रचण्डलाई पार्टी अध्यक्षको रुपमा बुझे । एक दशक देशको राजनीतिलाई आफू वरिपरि घुमाएका प्रचण्डले पार्टी हाँक्ने र कठिन परिस्थितिमा पनि राष्ट्रियताको मुद्दामा बलियो अडान लिन सक्ने केपी ओलीले देशलाई हाँक्ने कुरा जनतालाई मन पर्यो । फलस्वरुप जनताले बाम गठबन्धनलाई भारी बहुमत दिए ।
प्रचण्डले पार्टी हाँक्ने र केपी ओलीले देशलाई हाँक्ने कुरा जनतालाई मन पर्यो
अहिले भने जनादेशको सम्मान गर्दै बाम गठबन्धनको संयुक्त सरकार बन्ने र पार्टी एकीकरण हुने प्रक्रियामा धमिलोपन देखिन थालेको छ । विभिन्न बहानामा पार्टी एकीकरण लम्बिँदै गएको छ । नयाँ बाम सरकार गठनको प्रक्रियासमेत अवरुद्ध छ । राष्ट्रिय सभा नभएको बहानामा कांग्रेसले सत्ता हस्तान्तरणमा आनाकानी गरिरहेको छ । कांग्रेसको आनाकानी केही दिन सत्ता लम्ब्याउने स्वार्थ मात्र होइन । अबको ५ वर्ष पनि सत्तामा हालिमुहाली गर्ने निहीत उद्देश्यबाट प्रेरित छ । कांग्रेसले आफूलाई सरकारको नेतृत्व गर्न ‘अफर’ गरेको प्रचण्डको भनाइले यो कुराको पुष्टि गर्छ । कांग्रेसले गठबन्धनभित्र अविश्वास पैदा गरेर धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेको प्रस्ट भइसकेको छ ।
कांग्रेसको आनाकानी केही दिन सत्ता लम्ब्याउने स्वार्थ मात्र होइन । अबको ५ वर्ष पनि सत्तामा हालिमुहाली गर्ने निहीत उद्देश्यबाट प्रेरित छ ।
संविधानले ‘देशको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहीत रहेको’ भन्नुको तात्पर्य हो –दलका प्रतिनिधि माध्यम मात्र हुन्, असली हर्ताकर्ता जनता नै हुन् । देशका हर्ताकर्ता जनताले एमाले र माओवादीलाई मिलेर सरकार चलाउन पठाएका हुन् । जनताले अह्राएको काम गर्न बाम गठबन्धन चुक्न सक्ने संकेत देखिएका छन् । शुभकार्यमा बिलम्ब गर्नु हुँदैन भन्ने हाम्रो शास्त्रीय मान्यता हुनुको अर्थ हो बिलम्ब हुँदा बैरीले चलखेल गर्ने मौका पाउँछन् । बाम गठबन्धनले पनि आफ्नो उद्देश्य प्राप्तिको प्रक्रियामा बिलम्ब गर्दा चलखेल गर्नेहरुले अविश्वास पैदा गरेर खेल्न थालिसकेका छन् । यसलाई समयमै बुझेर जनादेशअनुसार अघि नबढ्ने हो भने जनादेशको अपमान गरेको अक्षम्य दोषको कलंक बाम गठबन्धनको निधारमा लाग्ने निश्चित छ ।