
काठमाडौं : स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले यस सिजनमा अपराजित यात्रा कामय राख्दै आएको छ । १७ खेल खेल्दा ४५ अंक जोडेको बार्सिलोनाले १४ जित र ३ मा बराबरी खेलेको छ । शनिबार चीरप्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध ३–० सहज जित निकालेपछि बार्सिलोनाको उपाधि यात्रा थप मजबुद भएको छ ।
गत सिजनको विजेता रियल मड्रिड १ खेल कम खेल्दा बार्सिलोनाभन्दा १४ अंकले पछि परि चौथो स्थानमा सीमित भएको छ । बार्सिलोनालाई पछ्याइ रहेका यथ्लेटिको मड्रिड र भ्यालेन्सिया पनि पछिल्ला खेलमा बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर उपयोग गर्न असफल रहे ।
शनिबार नै भएको खेलमा भिल्लारियलसँग १–० को हार व्यहोर्दा ३४ अंकसहित तेस्रो स्थानमा रहेको भ्यालेन्सियाले ३ अंक जोडी दोस्रो स्थानमा उक्लने अवसर गुमायो । त्यस्तै ३६ अंकसहित दोस्रो स्थानमा रही बार्सिलोलाई पछ्याइ रहेको यथ्लेटिको मड्रिड पनि शुक्रबार स्पानिओलसँग १–० ले पराजित हुदाँ बार्सिलोनासँगको अंक दूरी घटाउँने मौकाबाट चुक्यो । समान १७ खेल खेल्दा यथ्लेटिको मड्रिड र भ्यालेन्सिया शीर्ष स्थानको बार्सिलोनाभन्दा क्रमशः ९ र ११ अंकले पछाडि परेका छन् ।