
रेडियो कलर जडान गरिएको ५ नम्वर आईडीको मृत गैंडा । तस्बिर : यादव आचार्य
बर्दिया : बर्दियामा पहिलो पटक रेडियो कलर गरिएको ऐतिहासिक गैंडा मरेको छ । पहिलो पटक बर्दियाको खाता करिडोरमा रेडियो आईडी जडान गरिएको गैडा कालगतीले मरेको हो । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित असारेगौडी उपभोक्ता समिति अन्तरगत पर्सेनी घाटनजिकै डाँडागाउँ क्षेत्रको काँसको झाडीमा कलर जडान गरिएको पोथी गैडा मृत भेटिएको हो ।
केही दिनदेखि उपचार भइरहेको ५ नम्वर आईडीको विरामी पोथी गैंडा मरेको अवस्थामा भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । उनले भने–‘आँखामा समस्या रहेकाले हामीले उपचार गर्दै थियैाँ कालगतीले मर्यो।’ मृत गैंडाको खाग, खुर लगायतका संवेदनशील अंग बिहीबार राति निकालेर निकुञ्जमा राखिएको र मृत शरीर गाड्ने तयारीमा गरिएको भण्डारीले जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार कर्णाली करिडोर क्षेत्रमा २९ र चितवनबाट स्थानान्तरण गरिएका ८ वटा गैडा बबई उपत्यकामा छन् ।