
२८ माघ, काठमाडौं । भारतसँग विद्युत व्यापारका लागि अर्को ४ सय केभी क्षमताको दोस्रो अन्तरदेशीय प्रशारणलाइन बन्ने भएको छ । अब न्यू बुटवल-गोरखपुर अन्तरदेशीय ट्रान्समिशन निर्माणका लागि गृहकार्य सुरु भएको हो ।
यसले २५ सय मेगावाटसम्म बिजुली आयत-निर्यात गर्ने क्षमता राख्नेछ र यसबाट नेपाललाई आवश्यक पर्दा त्यति नै विद्युत आयात गर्न सकिने छ । ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनको एउटा सर्किट चार्ज भएसँगै अर्को अन्तरदेशीय प्रशारणलाइन निर्माणको प्रक्रिया अघि बढाउन लागिएको उर्जा मन्त्रालय स्रोतले बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत भदौमा भएको भारत भ्रमणका क्रममा नयाँ अन्तरदेशीय प्रसारणलाइन बनाउने सम्झौता भएको थियो । यो प्रसारणलाइन ११५ किलोमिटर लामो हुनेछ ।
बुधबार काठमाडौंमा हुने नेपाल-भारत द्वीपक्षीय उर्जासचिव स्तरीय बैठकमा यो आयोजनालाई अघि बढाउने एजेण्डा तय गरिएको छ । अघिल्लो दिन उर्जाका सह-सचिव स्तरको बैठक पनि काठमाडौंमै बस्नेछ ।
यो आयोजना सम्पन्न भएपछि नेपालमा उत्पादन हुने बिजुली भारत पठाउन सहज हुनेछ । अहिले नेपालमा एउटा मात्रै अन्तरदेशीय प्रशारणलाइन सञ्चालनमा छ । जुन पूर्ण क्षमतामा सञ्चालनमा आउन बाँकी छ ।
नयाँ अन्तरदेशीय प्रसारणलाइनको नेपाल र भारतले संयुक्त रुपमा यो आयोजनाको प्रारम्भिक प्रतिवेदन तयार गरिसकेका छन् । जसलाई शुक्रबार भारतमा दुबै पक्षले फाइनल गरेका छन् । यो अध्ययन प्रतिवेदन बुधबार सचिवस्तरीय बैठकमा पेश हुँदैछ र यसबारे थप निर्णय हुने बुझिएको छ ।
सरकारले विद्युत् माग बढी भएका क्षेत्रलाई सहज रुपमा बिजुली वितरण गर्न र भविष्यमा नेपालमा उत्पादित पलब्ध गराउने लक्ष्यका साथ यो प्रसारण लाइनलाई प्राथमिकतामा राखेको छ ।
प्राधिकरणले यो आयोजनाका लागि रोहिणीखोला नजिक अर्को सवस्टेशन बनाउने योजना बनाएको छ । यसबाट बूढीगण्डकी र मस्र्याङ्दी करिडोरलगायतका आयोजनाबाट उत्पादन हुने बिजुली पनि भारत निर्यात गर्न सकिनेछ ।
दुवै मुलुकले आ-आफ्नो तर्फको प्रसारणलाइन निर्माण गर्ने गरी ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले निर्णय गर्न सक्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
अझै यो ट्रान्समिशन कस्तो मोडालिटीमा बनाउने भन्नेमा दुई पक्षबीच सहमति भइसकेको छैन । भारतले संयुक्त कम्पनी खडा गर्न चासो देखाएको छ नेपालले दुबै देशले आ-आफ्नो भागको लाइन बनाउने प्रस्ताव गरेको छ ।
यो अन्तरदेशीय प्रशारणलाइन कहिलेसम्ममा बनाउने र बनाउन कति खर्च लाग्ने भन्नेबारे विस्तृत इञ्जिनियरिङ प्रतिवेदन बनाउन बाँकी छ ।
०७१ मा दुई देशबीच भएको विद्युत व्यापार सम्झौता (पीटीए)मा अन्तरदेशीय प्रसारण लाइनहरु बनाउने समझदारी भएको थियो । पीटीएको कार्यान्वयनकै क्रममा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा यस्तो सम्झौता भएको थियो ।
अहिलेसम्म नेपाल-भारतबीच २४० केभीए क्षमताको मुजप्फरपुर-ढल्केबर प्रसारणलाइन मात्रै सञ्चालनमा छ । त्यसलाई स्तरोन्नति गरेर ४०० केभीए क्षमताको बनाइँदैछ ।
अन्तर देशीय प्रशारण लाइन बनेपछि दुई देशबीच विद्युतको व्यापार गर्ने औपचारिक ढोका खुल्ने मन्त्रालयको विश्वास छ । अन्तरदेशीय प्रशारणलाइन बन्ने भएपछि नेपालको ठूला जलविद्युत आयोजनामा लगानी गर्न चाहने लगानीकर्ताहरु उत्साहित हुने अपेक्षा गरिएको छ ।
सचिवस्तरीय बैठकले १२३ केभीएको कुशाहा-कटैया र रक्सौल-परवानीपुर अन्तरदेशीय प्रसारणलाइन पनि चाँडै बनाउन मार्गनिर्देश गर्नेछ ।