तानसेन : ७० वर्षीय जितबहादुर बगाले बिरामी हुँदा देवी र कुलायन नाग देवता लागेको हो कि भनेर धामीकहाँ उपचार गर्न जान्छन् । धामीले निको बनाउन नसके मात्र उनको दोस्रो विकल्प अस्पताल हुन्छ । ‘सुरूमा धामीलाई हेराउन जान्छौं । लामा धामीले सन्चो बनाएन भने मात्र उपचारका लागि तानसेन जाने गरेका छौं,’ उनले भने ।
रिब्दिकोट गाउँपालिकाका बगाले मात्र होइन, उनको गाउँ र छिमेकका धेरैमा पनि बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने चेतना छैन, धामीकहाँ जाने चलन छ । उनीहरूको बुझाइ पनि अस्पतालले सबै रोग निको गर्न सक्दैन भन्ने छ । ‘अस्पतालले कुलयान, वायु, नाग, वन देवता लागेको भए ठीक बनाउँदैन’, स्थानीय छविलाल बगालेले भने । गाउँमा जुनसुकै प्रकृतिको बिरामीलाई पहिले लामाधामीकहाँ लगिन्छ । लामाले गाउँमा मरेका व्यक्तिहरू वायु कुलायन बनेर आएका छन् । ‘लामा धामीले पूजा गर्नुपर्छ । भाले र बोका चढाउनुपर्ने बताउँछन्’, महिला स्वयंसेविका मनकुमारी बगालेले भनिन्, ‘दुईचार पटक झारफुक गर्दा निको भयो भने देवता लागेको थियो, ठीक भयो भन्छन् ।’
स्वयंसेविका बगाले नै पनि आफूले ‘माता’को भेषमा उपचार गर्छिन् । ‘म लामाधामी त होइन तर मलाई माता आउने भएकाले माताले भनेअनुसारको उपचार गर्छु’, उनले भनिन् । स्वयंसेविकाले नै धामीझाँक्रीलाई प्र श्रय दिन थालेपछि स्थानीयहरू अस्पतालभन्दा धामीझाँक्रीमा निर्भर हुन थालेका हुन् । स्थानीय सामाजिक परिचालक मीना कुवँर खड्काले भनिन्, ‘बिरामी गलेर अन्तिम अवस्था नहुँदासम्म अपस्ताल जाँदैनन् ।’
पाल्पाको दुर्गम रिब्दिकोट गाउँपालिकामा बासिन्दाले धामीले उपचार गर्न नसके मात्र स्थानीय अस्पताललाई दोस्रो विकल्प ठान्छन् ।
रिब्दिकोट गाउँपालिका ८ फेकको पेलाचउर र ताल्तुङमा दुई सय ६५ परिवार रहेको मगर र दलित बस्ती छ । यहाँ समथर बारीका पाटामा अहिले पहेलै तोरी फुलेको छ । बारीका पाटाबाट लोभ लाग्दा सुन्दर हिमालका दृश्य देखिन्छन् । वरिपरि मनमोहक हरियाली डाँडा छन् । गाउँमा पुगेपछि जोकोहीलाई ‘स्वर्गमा टेके’जस्तो महसुस हुन्छ । गाउँ पुग्ने पाहुनालाई मुढेघारबाट काढेको महसँग कोदो फाफरका रोटी खान दिइन्छ । यस्तो आनन्दको महसुस गराउने त्यही पेलाचउर र ताल्तुङमा अन्धविश्वासले अझैसम्म जरा गाडेको छ ।
बालबालिकाले आमाको दूध नखाएमा, घरमा कसैलाई पेट दुखेमा, पखाला लागेमा, टाउको दुखेमा, हातखुट्टा दुखेमा, घाउखटिरा आएमा रोग लागेको होइन, कुलायन जागेको, नाग लागेको, वायु जागेको र देवी लागेको अनुमान गर्दै स्थानीय अस्पताल लैजान छोडेर लामाधामी खोज्न दौडिन्छन् । अन्धविश्वासका कारण पेलाचउर र ताल्तुङबासीले लामाधामीलाई ‘डाक्टर र अस्पताल’ ठानिरहेका छन्।
पेलाचउर गाउँमा मात्र सात जनाभन्दा बढी लामाधामी छन् । उनीहरू ‘देवीले विशेष मन्त्र सिकाएको’, ‘देवी उत्रिएको’, ‘माताले दर्शन दिएको’, ‘परमेश्वरको लामाधामी’ भनेर स्थानीयलाई अन्धविश्वासको भ्रममा पारिरहेका छन् । त्यसैमध्येका एक हुन्, फेक पेलाचउरका ६५ वर्षीय तिलबहादुर हिस्की । उनी चार वर्षको उमेरदेखि कुलदेवता उत्रेर लामाधामी बनेको दाबी गर्छन् । सोही गाउँकै ६० वर्षीय थानबहादुर विक र प्रेमबहादुर खड्काले धामीको काम गरिरहेका छन् । उनीहरू सबै ‘हल्लिँदै अक्षता गनेर’ उपचार गर्छन् ।
गाउँका युवाहरू रोजगारीका लागि बिदेसिएका छन्, गाउँमा बालबालिका, महिला र वृद्धवृद्धा मात्र छन् । गाउँनजिकै स्वास्थ्यचौकी छैन । पाँच रुपैयाँको सिटामोल किन्न पेलाचउरका बासिन्दालाई ८० रुपैयाँ भाडा तिरेर छहरा मेहलढाप पुग्नुपर्छ । स्वास्थ्य संस्था नजिक नहुँदा पनि उनीहरू धामीझाँक्रीमा निर्भर हुन बाध्य छन् ।
स्थानीयले उपचारका लागि धामीझाँक्रीलाई मात्र विश्वास गरेपछि रिब्दिकोट गाउँपालिकाले गाउँमै निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन ग¥यो । लुम्बिनी मेडिकल कलेज, सञ्जीवन काठमाडांै र स्वास्थ्य चौकी फेकको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार र स्वास्थ्य शिक्षा दिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए । ‘गाउँबाटै डा. र इन्जिनियर बनेका छन् । अशिक्षित धामीझाँक्रीको विश्वासमा परेका छन् । हामीले यस्ता गाउँबस्तीको खोजी गरी जनचेतना जगाउन स्वास्थ्य शिविर सञ्चालन गरेका हौं’, उनले भने ।
रिब्दिकोट मात्र होइन, पाल्पाका दुर्गम क्षेत्रका अधिकांश जनजाति र दलित बस्तीमा लामाधामीको प्रभाव अझै पनि छ । लामाधामीको अन्धविश्वासका कारण कैयौं परिवार छिन्नभिन्न भएको स्थानीय बताउँछन् ।