624 views 4 secs 0 comments

सशस्त्र मुख्यालयको स्टोरमा आगलागी – कान्तिपुर संवाददाता , काठमाडौं

In देश
५ पुष २०७४, बुधबार ११:०६

पुस ५, २०७४-सशस्त्र प्रहरीको हलचोकस्थित मुख्यालयमा सोमबार राति आगलागी भएको छ । सशस्त्रको खेल मैदानसँगै रहेको प्याराफिट भवनमा रहेको कोठामा राति करिब १ बजेतिर लागेको आगो दुइटा दमकलको सहायताले राति नै निभाइएको थियो । सशस्त्रले कागजात, पुराना कम्प्युटर र लेखा शाखाका केही सामग्री रहेको कोठामा लागेको आगो शंकास्पद भन्दै प्रशासन विभागका एआईजी प्रेम शाहीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ ।

लेखा शाखासँग सम्बन्धित कागजात नष्ट पार्ने उद्देश्यले नियोजित रूपमा आगलागी गराइएको हो कि भन्नेबारे पनि अनुसन्धान केन्द्रित हुने छानबिन समितिका एक सदस्यले बताए । सशस्त्रका प्रवक्ता बाबुराम पाण्डेका अनुसार आगलागीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट टेबल, कुर्सी, फ्रिज, केही पुस्तक र कागजात जलेका छन् । उनले भने, ‘के कति क्षति भयो र कोठामा के–के थिए भन्नेबारे समितिले छानबिनपछि तथ्य बाहिर ल्याउने छ ।’

प्रारम्भिक अध्ययनमा स्टोरभित्र रहेको फ्रिज खुला अवस्थामा रहेको र त्यसैबाट बिजुली सट भएर आगो लागेको आशंका गरिएको छ । लेखासम्बन्धी केही महत्त्वपूर्ण कागजात पनि जलेको आशंका सशस्त्रकै एक उच्च अधिकारीले गरे । आगलागीपछि मंगलबार नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो । टोलीले आगलागी भएको कोठाबाट बिजुलीको तार र पावर सकेट परीक्षणका लागि भन्दै ल्याएको छ ।

http://kantipur.ekantipur.com/news/2017-12-20/20171220063144.html