568 views 0 secs 0 comments

प्रदेशको राजधानी माग्दै सांसद र नेता काठमाडौंमा

In देश
४ पुष २०७४, मंगलवार १५:५८

धनकुटा, पुस ४– प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटाका सांसद, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवा काठमाडौं पुगेका छन् । जिल्ला सदरमुकाममा गरिने आन्दोलनले केन्द्रीय नेता र सरकारको ध्यान तान्न नसकेपछि उनीहरु काठमाडौं पुगेका हुन् ।

राजधानी माग्ने आन्दोलनको नेतृत्व गर्न प्रतिनिधिसभाका सांसद राजेन्द्र राई, प्रदेशसभा सांसदहरु निरन राई र ईन्द्रमणी पराजुली गाउँगाउँमा विजय जुलुसको कार्यक्रम स्थगित गरेर सोमबार नै काठमाडौं पुगेका छन् । विजय उत्सव मनाउँदै हिँड्नुभन्दा धनकुटालाई राजधानी बनाउने विषय महत्वपूर्ण हो ।

राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएपनि केन्द्रीय तहमा राजनीतिक निर्णय गराउन विभिन्न पार्टीका नेतासँग थप छलफल गर्न  जिल्लाबासीको प्रतिनिधित्व गर्दै काठमाडौं गएको प्रतिनिधिसभाका सांसद राजेन्द्र राईले बताउनुभयो ।

त्यस्तै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उपमेयर सकुन्तला बस्नेतसहित वडाध्यक्षहरु, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका नेता, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र नागरिक समाजका अगुवाहरु काठमाडौंमा धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी हुन थालेका छन् ।

मंगलबार काठमाडौंको माइतीघर मण्डलामा एक घण्टामा धर्ना गरेका धनकुटाबासीकोतर्फबाट प्रतिनिधिसभाका संसद राजेन्द्र राई, प्रदेससभाका सांसदहरु निरन राई र ईन्द्रमणी पराजुलीले हस्ताक्षर गरेको ज्ञापनपत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई  बुझाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

त्यस्तै धनकुटा काठमाडौं सरोकार समाजले पनि राजधानी तोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताए ।