
सांकेतिक तस्वीर
३ मंसिर, काठमाडौं । काठमाडौंमा एउटा यस्तो मसानघाट छ, जहाँ शवमा आगो सल्काइ मलामी घर फर्कन्छन् । र, भोलिपल्ट मात्रै खरानी सेलाउन पुग्छन् ।
दन्त्यकथाजस्तो लाग्ने यो चलन हो, कीर्तिपुरको । कीर्तिपुर–७ पाँगा क्षेत्रको नेवार समुदायमा अहिले पनि शवलाई चितामा राखेर आगो लगाएपछि एक रातका लागि घाटैमा छाडिने चलन छ ।
पाँगा क्षेत्रका नेवार कसैको मृत्यु हुँदा दाहसंस्कारका लागि स्थानीय विष्णुदेवी मन्दिर नजिकको घाटमा लैजाने गरिन्छ । घाटमा पुर्याएपछि शवलाई चितामा राखेर दागबत्ती दिइन्छ । दागबत्तीपछि चितामा आगो सल्काएर किरियापुत्री र मलामी घर फर्कन्छ ।
नागरिक दैनिक अगाडि लेख्छ– सामान्यतः हिन्दू परम्पराअनुसार यसरी चितामा राखी आगो लगाएपछि शव नजलुन्जेल मलामी घाटमै बस्ने चलन छ । शव जलिसकेपछि विधिपूर्वक खरानी पखालेर किरियापुत्रीसहित मलामी घर वा नजिकको किरियापुत्री घर जाने गर्छन् । तर, पाँगामा भने शवमा आगो लगाएर घर फर्कने मलामी र मृतकका आफन्त भोलिपल्ट बिहान मात्र घाट पुग्छन् ।
स्थानीय विष्णुदेवीका कारण शव आफैं जलेर खरानी हुने मान्यता राख्छन् । पानी परेका बेलासमेत शवलाई छाडेर जाँदा जल्ने गरेको स्थानीयको दाबी छ । स्थानीयमा धर्मात्माको शव जल्ने र पापीको नजल्ने विश्वास छ । कसैको शव नजलेर टुक्रा बाँकी रहे स्थानीयले जलाउने गरेका छन् । कीर्तिपुर–७ का वडाध्यक्ष राजकुमार मालीले नागरिकसँग दैवी शक्तिका कारण शव आफैं जल्ने विश्वास स्थानीयले गर्ने गरेको बताएका छन् ।