कपिलवस्तु । छिमेकी मुलुक भारतका लागि नेपाली राजदुतको पदबाट राजिनामा बुझाएर कांग्रेसको उम्मेदवार बनेका दीपकुमार उपाध्यायपनि पराजित भएका छन् । उनी कपिलवस्तु १ मा माओवादी केन्द्रका चक्रपाणी खनालसँग पराजित भएका हुन् ।
दीपकुमार उपाध्याय लामिछाने पूर्व मन्त्री हुन् । छिमेकी मुलुक भारतका लागि नेपाली राजदुत हुन् । साथै यसअघि संविधान सभाको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद हुन् । ५९ वर्षीय उपाध्याय २०४८ र २०४९ को संसदीय निर्वाचनमा कपिलवस्तु २ बाट विजयी भएका थिए । उनी २०५६को संसदीय निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवार थिए । यस अघि २०३८ र २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा समेत उम्मेदवार रहेका उपाध्याय दुवै पटक ३२ हजारभन्दा वढी मत पाएर पनि पराजित भएका थिए । २०४६ सालमा नेपाली काङ्ग्रेस प्रवेश गरेका उपाध्यायले अर्थ राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हालिसकेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उपाध्याय काङ्ग्रेस विभाजित भएको वेला नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) मा थिए । राजनैतिक यात्रामा तीन पटक गरी उनले चार महीना जेल जीवन बिताएका छन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक उपाध्याय दुई छोरी र एक छोराका पिता हुन् । राजनीति बाहेक कृषि पेशामा संलग्न उनको रुचिको विषय धार्मिक साहित्यको अध्ययन र समाजसेवा हो। उनी रोटरी, रेडक्रस, रूपक स्मृति प्रतिष्ठान लगायत विभिन्न सामाजिक संस्थासँग आवद्ध छन् । पत्र–पत्रिकामा उनका लेख रचना प्रकाशित हुँदै आएका छन्।