काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्लास्टिक सर्जन डा ईश्वर लोहनी आफ्नै काममा व्यस्थ थिए । एक दिन अस्पतालमा हातको कान्छी औंला बाहेक सबै औंला काटिएको बिरामी उपचारका लागि आए ।
डा लोहनीले ति बिरामीलाई हेरे । बिरामीको हातका औंला काठ चिर्ने मेसिनले पुरै छिनाएको रहेछ । छिनेको औंला साथमा नल्याएका कारण डाक्टरले उनको हातमा तत्कालै औंला जोड्न सकेनन् ।
तर, डा लोहनीले ती औँलाले सहारा पाए समातेर गर्ने धेरै काममा सहजता आउला भन्ने महसुस गरे। उनले खुट्टाको औँला काटेर हातमा जोडिदिने प्रस्ताव बिरामीलाई सुनाए।
चिकित्सा विज्ञानमा धेरै प्रगति भइरहेको सुने पनि नेपालमै यस्तो शल्यक्रिया हुन्छ भन्ने कुरा धेरैले पत्याउँदैनन्। त्यसैले खुट्टाको औँला हातमा जोड्ने किसिमका सर्जरीका लागि बिरामीबाट अनुमति पाउन डा लोहनीको समूहलाई मुस्किल पर्ने गर्छ। तर, हातका औँला काटिएका ती बिरामीले भने डा लोहनीको प्रस्ताव स्वीकार गरे। त्यसपछि उनले खुट्टाको एउटा औँला काटेर हातको बुढी औंला भए ठाउँमा जोडिदिए। कान्छी औँला र बुढी औँला भएपछि अचेल उनलाई काममा निकै सहज भएको छ।
खुट्टाको औंला हातमा जोडेपछि ति बिरामीको अनुहारमा देखिएको खुसीको चमकलाई डाक्टर लोहनीले अझै भुल्न सकेका छैनन् । त्यसयता उनले धेरै बिरामीको छिनेको औंला जोडिसके तर ति बिरामीलाई भने अझै भुल्न सकेका छैनन् ।
डा लोहनीले दशैँमा मासु काट्दा बच्चाले हात अगाडि ल्याएपछि औँला छिनिएको केसको पनि सफल उपचार गरेका छन् । पछुट्टिएको औँलो पनि सँगै ल्याएर आएकाले ती बच्चाले औँला पुनः पाउन सके। यसरी औँला जोडेर पठाएका केस त औँलामा भाँचेर गन्न नसकिने जति गरिसके उनले।
डा लोहनी भन्छन्, ‘छिनेका औंला तथा हात जोड्ने शल्यक्रिया टिचिङमा हुन्छ तर धेरैलाई यो विषयमा अझै जानकारी छैन ।’ डा लोहनीले प्लाष्टिक सर्जरीका विषयमा मानिसहरुमा चेतना नहुँदा पनि उपचारमा आउनेको क्रम कम भएको बताए ।