काठमाडौ: राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको अपारदर्शी आर्थिक कारोबारका कारण सरकारी संयन्त्रप्रति जनताको वितृष्णा बढेको बताएकी छन् । महालेखा परीक्षक कार्यालयको भवन शिलान्यास कार्यक्रममा राष्ट्रपति भण्डारीले विश्वव्यापी रूपमा नेपालको आर्थिक अवस्था र सुशासनको साख गिरिरहेकोमा चिन्ता व्यक्त गरिन् ।
यो स्थितिलाई बदलेर सार्वजनिक तथा आर्थिक कारोबारमा स्वच्छता, पारदर्शिता र जवाफदेहीता कायम गरी सुशासन स्थापित गर्न सक्नु अहिलेको आवश्यकता रहेको उनले बताइन् । राष्ट्रपति भण्डारीले एकातिर विकास बजेट फ्रिज हुने र अर्कोतर्फ सार्वजनिक आर्थिक कारोबारमा बेरुजु रकम चुलिने अवस्था रहेको बताइन् । ‘यी दुवै अवस्थाले आर्थिक अपारदर्शिता, भ्रष्टचार र अनियमितता बढाएको छ’, राष्ट्रपति भण्डारीले भनिन् । राष्ट्रपति भण्डारीले देशको सार्वजनिक, आर्थिक कारोबारमा स्वच्छता, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने आवश्यकता औंल्याइन् । महालेखा परीक्षकको कार्यालयका अनुसार हाल सरकारी बेरुजु करिब तीन सय ९६ अर्ब छ ।
राष्ट्रपति भण्डारीले संविधानको व्यवस्था अनुरूप राज्यका संघ, प्रदेश र स्थानीय तहमा भइरहेको पुनर्संरचना, राज्यशक्तिको बाँडफाँट, आर्थिक कारोबारको प्रयोग र राजस्व स्रोतको बाँडफाँट आर्थिक रूपान्तरणतर्फ केन्द्रित भएको बताइन् । उनले भनिन्, ‘मुलुकको आर्थिक प्रशासनलाई उत्तरदायी र जवाफदेही बनाउनु महालेखा परीक्षकको दायित्व हो ।’
महालेखा परीक्षकको कार्यालय सरकारी र सार्वजनिक आर्थिक, काराबोरमा स्वच्छ, पारदर्शी, जवाफदेही र विश्वसनीय रहनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्माले लेखापरीक्षण नतिजा कार्यान्वयनमार्फत आर्थिक अनुशासन कायम गर्न सार्वजनिक पदमा बहाल रहेका सबैले विशेष ध्यान दिन जरुरी रहेको बताए ।
५४ करोड २२ लाखमा नौ तले भवन
महालेखा परीक्षक कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले सोमबार शिलान्यास गरेको महालेखा परीक्षकको भवन ५४ करोड २२ लाख रुपैयाँमा बन्ने भएको छ । भवन निर्माणका लागि सरकारले अनामनगरमा १० रोपनी १३ आना जग्गा उपलब्ध गराएको थियो । सोही जग्गामा भवन दुई तला जमिनमुनि र सात तला जमिनमाथि निर्माण हुने भएको हो । भवन २०७६ भदौभित्र सम्पन्न हुने लक्ष्य छ ।