551 views 8 secs 0 comments

उम्मेदवारले नदेखेको गाउँ

In देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:२७

मकवानपुर : हेटौंडाबाट १० किलोमिटर उत्तर-पूर्वमा पर्छ, सोलिथुम गाउँ। गढी गाउँपालिका-५ को आमभञ्ज्याङस्थित यो गाउँका घरमा फाट्टफुट्ट विभिन्न पार्टीका झन्डा भने देखिन्छन्।
सुनसान गाउँमा शनिबार बिहानीको चिसो छल्दै स्थानीयवासी आआफ्नो काममा जाने तयारीमा थिए। गाईको दूध दुहेर तरकारी पकाउन स्कुस काट्दै गरेकी हीराकुमारी बजगार्इंलाई निर्वाचन हुँदै छ भन्ने थाहा भए पनि कहिले भन्ने थाहा रहेनछ। उनलाई कसरी भोट गर्ने भन्ने पनि थाहा छैन। ‘भोट माग्न कोही आएको छैन, कसैले भोट हाल्न पनि सिकाएको छैन’, उनले भनिन्, ‘निर्वाचन हुँदै छ भन्नेसम्म सुनेको छु।’

उनका श्रीमान् खड्गप्रसाद पनि भोट कसरी गर्ने भनी अन्योलमा रहेछन्। ‘रेडियोमा चैं भोट हाल्नेबारे सुनेको छु तर मतपत्र नदेखेकाले भोट कसरी हाल्ने अन्योलमा छु’, उनले भने, ‘भोट कसरी हाल्ने ? सिक्न, जान्न पाए हुन्थ्यो।’ सोलिथुमकी मंगलीमाया तामाङ पनि भोट गर्ने तरिकाबारे अन्योलमा छिन्। ६७ वर्षीय तामाङलाई कति मतपत्र छ भन्ने पनि थाहा छैन। ‘बूढालाई थाहा होला, भोट पनि उहाँले नै हाल्ने हो’, उनले भनिन्, ‘कसैले पनि भोट हाल्न सिकाएको छैन।’

तामाङ बाहुल्य सोलिथुमका चन्द्रमान थिङले पाँच दशकदेखि भोट दिँदै आएका छन्। ७० वर्षीय थिङले भने, ‘भोट हाल्ने तरिका चैं थाहा छ तर यसपटक मतपत्र कस्तो छ कतिवटा भोट हाल्ने थाहा छैन।’ करिब एक सय परिवार रहेको सोलिथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवार कोही पनि भोट माग्न नआएको स्थानीय युवा नवीन तिमल्सिनाले सुनाए। ‘हामीले नै भोट हाल्ने तरिका सिकाउँदै आएका छौं, निर्वाचन कार्यालयबाट कोही आएर अहिलेसम्म सिकाएको थाहा छैन’, उनले भने, ‘हेटौंडाबाट नजिकै रहे पनि सरकारी निकाय र उम्मेदवारहरूको आँखामा नपरेका कारण यो गाउँ विकट बन्न पुगेको छ।’

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक खटाएको छ। ‘तीन सय २४ मतदान केन्द्रमा उत्ति नै संख्यामा मतदाता शिक्षा कार्यकर्ता खटाएका छौं’, जिल्ला निर्वाचन प्रमुख गोविन्द पौडेलले भने, ‘हामीले प्रत्येक मतदातालाई घर-घरमै पुगेर मतदाता शिक्षा दिने लक्ष्य राखेका छौं।’ कात्तिक २६ गते सुरु भएको मतदाता शिक्षा कार्यक्रम मंसिर २० गतेसम्म जारी रहने उनको भनाइ छ।

स्थानीय तह निर्वाचनभन्दा यसपटक मतपत्र सानो आकारको भएकाले धेरै मत बदर नहुने निर्वाचन कार्यालयको अनुमान छ। आठ ठाउँमा नमुना मतदानसमेत सम्पन्न भएको छ। ‘औसतमा ४ प्रतिशत मात्र मत बदर भएको छ’, निर्वाचन कार्यालयका अधिकृत दिनेश श्रेष्ठले भने, ‘अघिल्लो निर्वाचनभन्दा मतदाता शिक्षा प्रभावकारी बनाइएकाले बदर मत घट्ने अनुमान छ।’ प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ चार सदस्यका लागि हुने निर्वाचनमा मकवानपुरका दुई लाख ५५ हजार ६ सय चार मतदाताले मतदान गर्न पाउनेछन्।