
मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताए। उक्त न्यूनचापीय रेखा तलतिर सर्ने क्रम जारी रहेकाले अबका केही दिन मनसुन सक्रिय रहने मौसमविद्को भनाइ छ। आज र भोलि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। “सोमबारदेखि मनसुन अझै सक्रिय हुँदै जानेछ”, मौसमविद् बासीले भने।
हाल देशभरि आंशिकदेखि सामान्य बदली भई पश्चिमी भू–भागका केही स्थानमा साथै पूर्वी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। राति देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मध्य र पूर्वी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। सोमबार देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।