मंसिर १७, २०७४-एमाले नेता किरण गुरुङ ४ नम्बर प्रदेशको मुख्यमन्त्री हुने दाबीसहित चुनावी मैदानमा छन् । पार्टीको स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गुरुङ तनहुँ–२ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुन् ।
उनी तनहुँको तत्कालीन क्षेत्र नम्बर ३ बाट २०४८ र २०६४ मा विजयी भएका थिए । पहिलो संविधानसभाको निर्वाचनपछि उनी वन तथा भू–संरक्षण मन्त्री पनि बने । प्रतिनिधिसभाका उम्मेदवार बन्छन् भन्ने पार्टीकै कार्यकर्ताको पनि अनुमान विपरीत उनी प्रदेशसभा सदस्यमा उठेपछि मुख्यमन्त्री हुने दाबी अघि सारेका हुन् । आफ्नो चुनावी एजेन्डामा सुशासन, पर्यटन, उद्योग र रेल मार्गलाई मुख्य प्राथमिकतामा राखेको उनले बताए । पोखरा र अन्नपूर्ण पदमार्ग क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको भनाइ छ ।गुरुङका प्रतिस्पर्धी कांग्रेसका युवा नेता पूर्वसांसद ध्रुव वाग्लेले पनि जिल्लामा परिचितमध्ये हुन् । व्यास नगरपालिकाको मेयर, पार्टीको सभापति हुँदै २०७० मा समानुपातिक सभासद भएका वाग्ले संसदीय दलका सचिव पनि भएका थिए । मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका उनका एजेन्डा पनि गुरुङका भन्दा धेरै फरक छैनन् । पर्यटन विकास, जलविद्युत्, व्यावसायिक कृषि र जडीबुटी खेतीलाई प्राथमिकतामा राखेको उनले बताएका छन् ।
क्षेत्र १ ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई पनि प्रदेशको मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा छन् । २०३४ मा विद्यार्थी छँदै राजनीति सुरु गरेका उनी २०५३ मा नेविसंघको केन्द्रीय सभापति र २०५८ मा तरुण दलको महासचिव भएका थिए । उनले भने, ‘४ नम्बर प्रदेशलाई उत्कृष्ट बनाउनका लागि हाइड्रोपावर, पर्यटन, व्यावसायिक कृषि विकास मेरो मुख्य चुनावी एजेन्डा हुन् ।’ वैदेशिक लगानी, कर र निजी क्षेत्रको लगानीले कालीगण्डकी, सेती, बूढीगण्डकी, मादी, दोरर्दी र मोदी खोलाबाट विद्युत् उत्पादन गर्न सकिने उनले बताए । भट्टराईको प्रतिस्पर्धा वाम गठबन्धनका उम्मेदवार रामबहादुर गुरुङसँग छ । एमाले नेता गुरुङ पनि चुनावी सभामा मुख्यमन्त्रीकै दाबीसहित प्रस्तुत हुने गरेका छन् ।
क्षेत्र २ ‘क’ बाट प्रदेशसभा सदस्य उम्मेदवार बिनाविभागीय मन्त्री आशा कोइराला माओवादीको द्वन्द्वकालदेखिकी सशक्त महिला मानिन्छिन् । २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र ३ बाट उठेर पराजित उनलाई ०७० मा पार्टीले समानुपातिक कोटामा सांसद बनाएको थियो । कार्यकर्ता भने उनलाई प्रदेशको सम्भावित मुख्यमन्त्री भन्दै चुनाव प्रचारमा छन् । आफूले प्रदेशको भूगोलअनुसार हिमाल, पहाड, तराई समेटिएका कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको बताएकी छन् । कोइरालाको प्रतिस्पर्धी उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा छन् । नेविसंघको अध्यक्ष भएर चर्चामा आएका युवा नेता पौडेलले पर्यटन, कृषि र जलविद्युत्लाई नै मुख्य प्राथमिकतामा राखेको बताएका छन् । ‘पर्यटकीय क्षेत्रको पूर्वाधार तयार गर्नेछु,’ उनले भने, ‘चीन र भारतसम्म प्रदेशलाई यातायात सञ्जालले पोखरालाई जोडिनेछ ।’
http://kantipur.ekantipur.com/news/2017-12-03/20171203063717.html