537 views 0 secs 0 comments

काँग्रेसको प्रतिबद्धता सैनामैनामा इञ्जिनियरिङ् कलेज

In देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार १३:०९

नेपाली काँग्रेसले सैनामैना नगरपालिकामा सुबिधा सम्पन्न इञ्जिनियरिङ् कलेज बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

रुपन्देहीको क्षेत्र नं. २ मा पर्ने सैनामैना नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा घरदैलो गर्ने क्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज गिरी र प्रदेश सभा सदस्य उम्मेदवार महेशमान सिंहले युवालाई प्राबिधिक शिक्षा आवश्यकतामा जोड दिंदै सैनामैनामा सुविधा सम्पन्न इञ्जिनियरिङ् कलेज बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

रुपन्देही क्षेत्र नं. २ मा बुटवल उपमहानगरपालिका सहित सैनामैनाको ४ वटा वडा र तिलोत्तमा नगरपालिकाको १ देखि ६ सम्मका वडा पर्दछन् । नेपाली काँग्रेसले बुटवल बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने तथा तिलोत्तमा नगरपालिकामा मेडिकल कलेज बनाउने प्रतिवद्धता गरेको छ ।

त्यस्तै नेपाली काँग्रेसले बुटवलमा बिकास प्राधिकरणको लागि प्रतिवद्धता व्यक्त गरेको छ । उसले प्राधिकरणका माध्यमबाट सैनामैना, बुटवल र तिलोत्तमा हुँदै तिनाउ चक्रपथको अवधारणा अंगाडी सारेको छ । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज गिरीले नेपाली काँग्रेसले बुटवललाई केन्द्रमा राखेर रुपन्देहीमा प्रदेश राजधानी बनाउने प्रतिवद्धता गरेकाले पनि यस क्षेत्रको भौतिक पूर्वाधारको बिकास सोही अनुसार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

बुटवल पुरानो व्यापारिक स्थल भएपनि पछिल्लो समयमा शिक्षा, स्वास्थ्य, उद्योग व्यापार, अटो सबै क्षेत्रमा हवको रुपमा बिकास हुँदै गएको छ । यसले पनि बुटवललाई केन्द्रमा राखेर रुपन्देहीमा नै प्रदेश राजधानी बनाउन सकिने नेताहरु बताउँछन् । पूर्व–पश्चिम, उत्तर दक्षिणको ट्रान्जिक्ट प्वाईन्ट पनि भएकाले बुटवललाई प्रदेश राजधानी बनाउने सम्भावना उत्तिकै छ । तर काँग्रेस नेताहरुले एमालेले दाङ्लाई प्रादेशिक राजधानी बनाउने निर्णय गरेर जनता झुक्याउनकालागि बुटवल बनाउने प्रोपोगाण्डा मात्रै गरेको आरोप लगाउँदै आएका छन् ।

एमालेको दाङ्लाई प्रदेश राजधानी बनाउने भित्री निर्णय, सुकुम्बासीका नाममा पटक पटक लालपूर्जा बाड्ने बाचा गरेपनि काम नगरेको र भारतीय भूपू सैनिककालागि

बुटवलमा बन्दै गरेको स्थायी पेन्सन क्याम्पको बिरोध गरेकाले नेपाली काँग्रेसको जित सहज भएको नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले बताउनु भयो ।

दाङ्का माओवादी नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलले पाँच नं. प्रदेशको राजधानी दाङ् र प्रदेशको नाम लुम्बिनी हुने पार्टी निकटका व्यक्तिहरुलाई बताउँदै आएका छन् । एमालेले प्रदेशको मुख्य मन्त्री बनाउने सर्तमा केन्द्रीय नेता शंकर पोखरेललाई प्रदेश सभामा उम्मेदवार बनाएको छ । यसले पनि एमालेले प्रदेश राजधानी दाङ्लाई नै बनाउने पुष्टि गर्छ ।

जनताका आवश्यकता बुझ्दै न्यौपाने

नेपाली कांग्रेस रुपन्देही क्षेत्र न १ अन्तर्गत प्रदेश सभा (ख) का उम्मेद्धवार हरि न्यौपाने आसन्न निर्वाचनको लागि गरिएको घरदैलो अभियानमा जनताका स्थानीय आवश्यकता र पीरमर्का बुझ्दै हिड्नुभएको छ ।

उहाँले बिहिबार तिलोत्तमा नगरपालिकाको वडा न १५ स्थित सखुवानी, पत्थरडांडा र कोटिहवामा घरदैलो सम्पन्न भएको हो ।

घरदैलोमा नेता न्यौपानेसंगै नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नगर सचिव शिव ग्रैहे, नगर कोषाध्यक्ष जगत पौडेल, युवा नेता वृजेश न्यौपाने लगायतको लोकतान्त्रि गठबन्धलाई बहुमत दिलाउन मतदातासंग आग्रह गर्नु भएको थियोे ।

पोखरेलसंग विकासको प्रत्याभूति खोजी

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ (क) का प्रदेश सभाका उम्मेदवार विष्णु पोखरेललाई जनताले भोट दिने प्रतिवद्धता व्यक्त गर्दै तर त्यसको बदलामा विकासको प्रत्याभूति खोजेका छन् ।

विहिवार क्षेत्र नं. ५ अन्तर्गत सैनामैनाको वार्ड नं. ५, ६, ७ र ८ मा कांग्रेसले आयोजना गरेको उम्मेदवारसंगको परिचयात्मक कार्यक्रम तथा घरदैलोमा उम्मेदवार पोखरेलसंग स्थानीय जनताले एकपटक कुनैपनि राजनैतिक दलको नभनी भोट दिने तर अर्कोपटक आउँदा विकासपनि संगै लिएर आउन अनुरोध गरेका हुन ।

उहाँले विकासका पर्याय वनेका नेपाली कांग्रेसका नेता तथा क्षेत्र नं. ५ वाट प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहको चर्चा गर्दै जिल्लाका क्षेत्रमा उहाँले जस्तो विकास कसैले नगरेको वताउँदै शाहसंगै मिलेर यस क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आफूलाई निर्वाचित वनाएर पठाए यसै क्षेत्रको विकासमा समर्पित हुने र जनतासंगको सहकार्यमा का गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

उहाँले बुधवार देउवापार, आमी, बयरकट्टी लगायतका स्थानमा जनतासंग साक्षात्कार गर्दै गाउँ गाउँमा स्वास्थ्य चौकी स्थापना गर्ने, स्कुल खोल्ने, बाटो पिच गर्ने काम आफूहरुले गर्ने वताउनुभयो ।