556 views 0 secs 0 comments

नेपालगञ्जमा लोकतान्त्रिक गठबन्धनको विशाल र्याली, गठबन्धनका उम्मेद्वार विजयी हुनेमा ढुक्क

In देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार १३:०३

नेपालगञ्ज(बाँके) १५ मंसिर । लोकतान्त्रिक गठबन्धनको आयोजनमा नेपालगञ्जमा बिहिबार भब्य र प्रभावकारी सडक र्याली सम्पन्न भएको छ । यो र्यालीको माध्यमबाट लोकतान्त्रिक गठबन्धनले बाँकेका सबै क्षेत्रमा आफ्नो पक्षमा चुनावी लहर ल्याएको टिप्पणी स्वतन्त्र बुद्धिजीवीहरुले पनि गरेका छन् ।

लोकतन्त्रको रक्षा,दिगो शान्ति, विकास र समृद्धिका नारा सहित आयोजना गरिएको विशाल र्याली पछि त्रिभुवन चोकमा आयोजित कोणसभालाई लोकतान्त्रिक गठबन्धनका नेताहरु, उम्मेद्वारहरु र स्वतन्त्र तथा पेशागत व्यवसायीहरुले संबोधन गरी गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनबाट बाँके २ का राप्रपाका प्रतिनिधि सभा उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ (क) का काँग्रेसका उम्मेदवार निरन्जनसिंह सिजापति र प्रदेश सभा–२(ख) का उम्मेदवार सुरेन्द्र हमालले रोड शोका क्रममा नेपालगन्जबासीमा देखिएको उत्साहले गठबन्धनकोे जित सुनिश्चित रहेको बताउनुभएको थियो ।

संबोधनका क्रममा तीनै जना उम्मेद्वारले गठबन्धनले जितेपछि नेपालगञ्जलाई संघिय राजधानी बनाउने, राझा विमानस्थलाई अन्र्तराष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्र्ने, बाढी तथा डुबान समस्या समाधान गर्ने, नेपालगञ्जमा स्मार्ट सिटी निर्माण गर्ने र मुस्लिम छात्राबास स्थापना लगायतको काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले बाँकेको क्षेत्र नम्बर २ सुरु देखी नै प्रजातन्त्र र लोकतन्त्र प्रति आस्था राख्ने जनताको गढ भएको बताउँदै यसपटक पनि लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको ठोकुवा गर्नुभयो । ‘मेरो विनम्र अनुरोध छ, वाम गठबन्धनले संविधान र लोकतन्त्रलाई धरापमा पार्न खोजेकाले लोकतान्त्रिक गठबन्धनलाई आफ्नो अमुल्य भोट दिएर विजयी गराउनु होला’, सभापति कोईरालाले भन्नुभयो ।

सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगरले नेपालगन्जको समग्र विकासको लागी लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गर्नुभयो ।उहाँहरुले नेपालगञ्जको विकास गर्नकै लागी जनताले उपमहानगरपालिकाको नेतृत्वमा चयन गरेकोले आफूहरुसंग विचार मिल्ने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचित भएमा विकास र निर्माणका काम सहज ढंगले अगाडि बढ्ने बताउनुभये ।

सभालाई सम्बोधन गर्दैै नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व महासचिव विष्णु लामिछानेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन यहाँका उद्योगी, व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । “नेपालगन्जका अधिकांश उद्योगी, व्यवसायीहरु लोकतन्त्रमा विश्वास गर्नुहुन्छ, त्यसकारण उहाँहरुले यो चुनावमा लोकतान्त्रिक गठबन्धनलाई जिताउनु हुनेछ” उहाँले भन्नुभयो ।

उहाँले स्वतन्त्र रुपले व्यवसाय गर्ने नेपालगञ्जका उद्योगी व्यवसायी मौलिक अधिकार र आर्थिक स्वतन्त्रतामा अंकुश लगाउने र कम्युनिष्ट शासन ल्याउन खोज्ने वाम गठबन्धनको पक्षमा जानै नसक्ने बताउनुभयो ।

उम्मेदवारहरु अन्तिम कसरतमा

प्रचारप्रसारका लागि उम्मेदवारहरुलाई ३ दिनको मात्र समय रहँदा बाँकेका उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो परेको छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पनि जोडतोडले लागि परेका छन् ।

लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ (ख) का उम्मेदवार नारायण गौडेलले विहीबार कोहलपुर नगरपालिका वडा नम्बर ११ का बसपार्क र दशविघा क्षेत्रमा घरदैलो सम्पन्न गर्नुभएको छ । प्रदेशसभा १ (क) का उम्मेदवार शरदचन्द्र बर्माले फत्तेपुरको खल्लाझगडिया र नन्कउपुरमा घरदैलो गरेको बताउनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ (क) का उम्मेदवार चन्तराम थारुले बैजानाथ गाउँपालिका वडा नम्बर २ नौवस्तामा कोणसभा र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको छ । प्रदेशसभा ३ (ख) का उम्मेदवार लक्ष्मीनारायण शाहले विहीबार खजुरा बजारमा घरदैलो सम्पन्न गर्नुभएकोे छ ।