धनगढी(कैलाली), १५ मंसिर । प्रधानन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार प्रदेश नम्बर ७ का दुई जिल्लाका चार ठाउँमा विशाल चुनावी सभामा सहभागी बन्नुभएको छ ।
शुक्रबार बिहान मात्रै राजधानीबाट धनगढी आइपुग्नु भएका प्रधानमन्त्री देउवाले डोटीको बोगटान र सायल तथा अछामको मंगलसेन र सा“फेबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो ।
‘नेपाली कांग्रेसले जनतालाई मालिक मान्दछ’ अछामको सदरमुकाम मंगलसेनमा आयोजित सभामा प्रधानमन्त्री देउवाले भन्नुभयो– कांग्रेसले नै नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने क्रान्तिको नेतृत्व गरेको हो ।
उहाँले बाम गठबन्धनका नाममा एमाले तथा माओवादी केन्द्रले नेपालमा एकदलीय कम्युनिष्ट अधिनायकवाद लाद्न खोजेको बताउनु भयो ।
सुदूरपश्चिमको विकासका लागि अरु कुनै पार्टीले सिन्को समते नभाचेको चर्चा गर्दै उहाँले भन्नुभयो– तपाईंहरू कांग्रेसलाई जिताउनुहोस्, यो प्रदेशको तीब्र आर्थिक समृद्धिको जिम्मेवारी म लिन्छु ।
प्रधानमन्त्रीले मंगलसेनदेखि चिसापानीसम्मको बहुप्रतिक्षित द्रुत मार्गको निर्माण कार्य छिट्टै पुरा हुने बताउनुभयो ।
यस्तै, डोटीको बोगटान गाउँपालिका चमराचौतामा भएको चुनावी सभामा प्रधानमन्त्री देउवाले एक पटक पुनः नेपाली जनताले अधिनायकवादी शासनविरुद्ध लोकतन्त्रका पक्षमा उभिनुपर्ने वेला आएको चर्चा गर्नुभयो ।
‘नेपाली जनताले जहानिया राणा शासन, एकदलीय पञ्चायती शासन तथा राजाको निरंकुशताविरुद्ध संघर्ष गरेर लोकतन्त्रको स्थापना तथा रक्षा गरेका छन्’ उहाँले भन्नुभयो– तपाईहरूले फेरि एक पटक संविधान च्यातेर कम्युनिष्ट अधिनायकवाद लाद्न खोज्नेहरूलाई परास्त गरेर लोकतान्त्रिक शासनको रक्षा गर्नुपर्ने वेला आएको छ ।
प्रधानमन्त्रीले सहजपुर–बोगटान–दिपायल द्रुत मार्ग छिट्टै कालोपत्रे गरि सो मार्गको नाम सिद्धराज ओझा मार्ग नामाकरण गरिने बताउनु भयो ।
सभामा भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार वीरबहादुर बलायर, प्रदेश सभा सदस्य उम्मेदवार योगन्द्रबहादुर शाही, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, सिखर नगर प्रमुख सीताराम जोशी, बडिकेदार गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्द, लक्ष्मीराज पाठक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।