615 views 0 secs 0 comments

भागेका उम्मेदवारले भाषण रेकर्ड गरेर पठाए, जेलमा भएका उम्मेदवारको पत्र – ‘भोट मलाई नै दिनुस्’

In देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १३:१५

दोश्रो चरणको चुनाव नजिकिएसँगै अरु क्षेत्रमा जस्तै कैलाली पनि उम्मेदवारले प्रचार प्रसार तीव्र बनाएका छन् । घर घरमा पुगेर उम्मेदवारले भोट मागिरहेका छन् । चोक चोकमा दिनहुँ सभा भैरहेका छन् ।

तर कैलालीका दुईजना उम्मेदवारको भोट माग्ने शैली फरक छ । एकजना गाउँ गाउँमा प्रोजेक्टर लगेर भोट मागिरहेका छन् भने अर्का उम्मेदवार जेलमा छन् । उनले जेलबाटै पत्र पठाएर भोट मागिरहेका छन् ।

दुवैजना राष्ट्रिय जनता पार्टीका उम्मेदवार हुन् र दुवै टिकापुर घटनाका अभियुक्त पनि ।

टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका रेशम चौधरी कैलाली निर्वाचन क्षेत्र नम्वर १ र घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका लक्ष्मण थारु कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका छन् । फरार रहेका चौधरीको प्रचारमा प्रोजेक्टरको प्रयोग भइरहेको छ । अनि, थुनामा रहेका लक्ष्मण थारुले भोट माग्दै मतदातालाई पत्र पठाएका छन् ।

फरार रहेका चौधरीले भाषण रेकर्ड गरेर कार्यकर्तालाई पठाउने गरेका छन् । भाषण प्रोजेक्टरमार्फत मतदातालाई सुनाउने र देखाउने गरिएको राष्ट्रिय जनता पार्टीकैतर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश ख का उम्मेदवार लक्ष्मण चौधरीले बताउनुभयो । ‘रेशम फेसबुक मेसेन्जरबाट आफ्नो भिडियो मन्तब्य पठाउनुहुन्छ, हामीसँग दुईवटा प्रोजेक्टर छन, हामी उहाँको भनाई मतदाताको घरमा लगेर देखाउँछौं’ चौधरीले भन्नुभयो । रेशमको अडियो र भिडियो प्रोजेक्टरबाट मात्रै होइन, प्रचारकहरुले मोबाईल र ल्यापटपबाट पनि मतदातालाई देखाईरहेका छन ।

८ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या हुने गरी भएको टिकापुर घटनापछि रेशम चौधरी फरार छन । चौधरीलाई सरकारले टिकापुर घटनामा संलग्न भएको भन्दै कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना गरी तीनवटा मुद्दा चलाएको छ । तर ती मुद्दाको फैसला नभएका कारण चौधरीलाई अहिले नै दोषी भन्न नमिल्ने भएकाले चौधरीको उम्मेदवारी दर्ता गरिएको हो ।

टिकापुरमा सदभावको बातावरण खोज्दै चुनावी मैदानमा उत्रिएकाले जित्नेमा पनि राष्ट्रिय जनता पार्टीको दावी छ ।

तत्कालीन मधेशी जनअधिकार फोरमका नेता लक्ष्मण थारु पनि टिकापुर घटनाकै आरोपमा २६ महिनादेखि कारगारमा छन् । उनको मुद्दाको पनि फैसला नभएका कारणले अहिले कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् । थारुको चुनावी प्रचारमा पनि फरक दृश्य देख्न पाईन्छ ।

सबै उम्मेदवारहरुले चुनाव नजिकिंदै गर्दा मतदाताको घरदैलोमै पुगेर प्रचार गरिरहेका बेला कारागारमा रहेका थारुले भने आफ्ना प्रचारकहरुमार्फत मतदाता समक्ष भोटका लागि लिखित अपील पठाईरहेका छन् ।

धनगढीलाई प्रदेश नम्वर ७ को राजधानी बनाउने प्रतिबद्धता सहित थारुको चुनावी प्रचार भैरहेको राष्ट्रिय जनता पार्टीबाटै कैलाली निर्वाचन क्षेत्र नम्वर ५ को प्रदेश ख का उम्मेदवार रामलक्ष्मण ठाकुरले बताउनुभयो ।

थारुले जेल भित्रबाट टेलिफोनको सहायताले भोट मागिरहेको बताएका छन् । कारागार प्रशासनको सहयोगमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म टेलिफोनमा व्यस्त हुने थारुले आफू आरजु राणा देउवालाई सहजै हराउने बताउँदै आएका छन् ।

अहिले थारु सहित २५ जना २६ महिनादेखि पुर्पक्षको लागि कैलाली कारागारमा थुनामा रहेका छन । एकै घटनाका दुईजना आरोपीले प्रतिनिधिसभाका लागि दिएको उम्मेदवारीलाई कसैले राजनीतिक अधिकार भनेका छन् भने कसैले आलोचना समेत गरेका छन् । निर्वाचन अधिकृतका कार्यालयहरुले पनि रेशम र लक्ष्मणको उमेदवारी कानुन सम्मत भएको प्रतिक्रिया दिएका छन ।