भूकम्प पीडितको त्रिपालको टहरामा आगलागी, धनमाल जलेर नष्ट

In दुर्घटना, भूकम्प
१३ मंसिर २०८०, बुधबार १८:४८

जाजरकोटको नलगाड नगरपालिका–६, को भारगाउँमा भूकम्प प्रभावित बस्दै आएको त्रिपालमा आगलागी भएको छ ।

मंगलबार साँझ खाना पकाउने क्रममा एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक रगुविर केसीले  जानकारी दिए । भूकम्पबाट प्रभावित उनीहरु नाताले दाइ भाइ पर्छन् । दुवैको घर गत कार्तिक १७ गते मध्यरातीको भूकम्पले भत्काएको थियो ।

त्यसपछि उनीहरु त्रिपालमा बस्दै आएका थिए । ‘चिसो बढ्नथालेपछि चिसो छेक्न त्रिपालमाथि खर फालेका थिए,’ केसीले भने, ‘ पूर्णबहादुरको त्रिपालभित्र खाना पकाउने क्रममा एक्कासि आगो लाग्यो र खर भएका कारण बलबहादुरको त्रिपालसम्म पुग्यो ।’

क्षतिबारे दल्लीबाट प्रहरी गएर मुचुल्का उठाइसकेको उनले बताए । आगलागीबाट एक क्वीन्टल आलुको बीउ, १०० केजी फापर, दाल, सिमी, भटमास गरी १० केजी, नुनदेखि लत्ताकपडा, विस्तार सबै जलेको उनले बताए ।