उत्तराखण्डमा सुरुङभित्र फसेका मजदुरको १७ औं दिनसम्म पनि भएन उद्धार

In विश्व
१२ मंसिर २०८०, मंगलवार ११:३८

१२ मंसिर, काठमाडौं ।

भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा मजदुरहरु फसेको आज १७ औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेको छैन ।

मेसिनबाट उद्धारको काम प्रभावित भएपछि अहिले हातैले खनेर उद्धारको प्रयास भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सिलक्यारामा सुरुङ निर्माण खन्ने क्रममा १२ नोभेम्बरको दिन एक भाग भत्किएर त्यहाँ भित्र काम गरिरहेका ४१ जना मजदुर फसिरहेका छन् । उनीहरुलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको छ । उनीहरुलाई बाहिर निकाल्न ठाडो र तेर्सो खनेर पाइप घुसाउने काम भइरहेको छ ।

यसअघि मजदुरहरुलाई उद्धारका लागि जमिनभित्र पाइप पुर्याउन ओगर मेसिनले डि्रल गर्न सुरु गरिएको थियो । तर जमिन खन्ने मेसिन नै भाँचिएपछि उद्धारकार्य प्रभावित भएको थियो ।

भाँचिएको भाग काटेर निकालेपछि अहिले हातैले खनेर मान्छे छिर्ने पाइप सुरुङभित्र घुसाउने प्रयास भइरहेको छ ।