नागरिकलाई मोदीको आग्रह- विदेशमा विवाह नगर

In विश्व, समाज
११ मंसिर २०८०, सोमबार ०८:३८

११ मंसिर, नयाँ दिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको ‘भोकल फर लोकल’ अभियानलाई अगाडि बढाउँदै आइतबार नागरिकहरूलाई विदेशमा विवाह समारोह आयोजना नगर्न आग्रह गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मासिक रेडियो कुराकानी ‘मन की बात’को पछिल्लो संस्करणमा देशवासीलाई सम्बोधन गर्दै विवाहका लागि किनमेल गर्दा भारतमा बनेका मात्र उत्पादनलाई महत्व दिन आग्रह गरेका छन् ।

उनले भने, ‘विवाहको मौसम पनि सुरु भइसकेको छ । केही व्यापारिक सङ्गठनहरूले अनुमान गरेअनुसार यो विवाहको मौसममा लगभग पाँच लाख करोड भारतीय रूपैयाँको व्यापार हुन्छ ।’

स्वदेशमै विवाहको व्यवस्था गर्न सके गरिब जनताले केही न केही सेवा गर्ने अवसर पाउने उनको भनाइ थियो । ‘विवाहका लागि किनमेल गर्दा तपाईंहरू सबैले भारतमा बनेका उत्पादनलाई मात्र महत्व दिनुपर्छ,’ उनले भने ।