
पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी जातीय विभेदको कसुरमा दोषी ठहर भएका छन्। जिल्ला अदालत, कास्कीले वडाध्यक्ष अधिकारीलाई जातीय विभेदमा दोषी ठहर गरी ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
आफ्नै वडा सदस्यमाथि विभेद गरेको अभियोग लागेका अधिकारीलाई न्यायाधीश अवन कोइरालाको इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तिरे पुग्ने कसुर भए पनि जनप्रतिनिधिसमेत रहेकाले थप १ महिना कैद र २५ हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
धरौटीमा छुटेका अधिकारीविरुद्धको मुद्दामा अदालतले दोषी ठहर गर्दै पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भर्नसमेत आदेश दिएको छ। पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् ।
गत वर्षको पुसमा वडाध्यक्ष अधिकारीले सार्वजनिक समारोहमै आफ्नै वडासदस्य मैया नेपालीमाथि जातीय अपमान हुने शब्दावलीसहित गाली गरेका थिए। त्यसविरुद्ध वडासदस्य मैयाले पुस ९ गते किटानी जाहेरीसहित न्यायको माग गरेकी थिइन्।
वडासदस्य मैयाले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम कारबाही माग गरेकी थिइन्। सो मुद्दाको सुनुवाइ हुँदा यसअघि गत माघ ९ गते न्यायाधीश ऋषिराज आचार्यको इजलासले १ लाख ५० हजारमा रुपैयाँमा अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।