कठ्यांग्रिने जाडोमा त्रिपालमुनि गइरहेको छ भूकम्पपीडितको ज्यान

In भूकम्प, मृत्यु
५ मंसिर २०८०, मंगलवार १३:१७

५ मंसिर, काठमाडौँ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ टापु गाउँकी विष्णुकुमारी खत्री केही वर्षयता दमको रोगी थिइन्। बेला-बेलामा बाँकेको नेपालगञ्ज पुगेर उपचार गराइरहेकी ७० वर्षीया खत्रीले नियमित औषधि सेवन गर्थिन्। साँझ–बिहान घरमै न्यानो पारेर बस्थिन्।

कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्र भएर गएको भुइँचालाले उनको घर चर्कियो। घर धरापजस्तो बनेपछि उनको परिवार त्यही रातिदेखि घरबाहिर बस्न थाल्यो। चिसोका कारण खत्रीलाई दमले झन् गाँज्न थाल्यो।

घर बाहिर बस्न थालेको एक सातामै उनलाई रोगले थप गलायो। गत शनिबारदेखि खत्री सिकिस्त भइन्। आफूलाई उपचार गर्न लैजान परिवारलाई भनिन्। परिवारले आइतबार दिउँसो ३ बजेका लागि नेपालगञ्जको बस टिकट लिएका थिए। त्यसअघि नै उनको मृत्यु भयो।

‘उपचार गर्न मलाई नेपालगञ्ज लगिदेऊ भन्नुभयो, हामीले दिउँसो तीन बजेको लागि टिकट लिएका थियौं,’ विष्णुकी छोरी गौरी थकालीले भनिन्, ‘तीन नबज्दै मुमाको मृत्यु भयो। घरभित्रै न्यानो गरेर बसे केही राहत हुन्थ्यो, जति नै कपडा ओढे पनि प्लाष्टिकमुनि तातो नहुने रहेछ।’

खत्रीलाई कात्तिक पहिलो साता नेपालगञ्ज नर्सिङ होममा पुर्‍याएर उपचार गरिएको थियो।