
१ मंसिर, काठमाडौँ।
वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन्। बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ।
कात्तिक महिनामा ९ दशमवल ९६ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मङ्सिर महिनामा ० दशमलव ३३ प्रतिशत बिन्दु घटेर ९ दशमलव ६३ प्रतिशतमा झरेको हो।
हाल सञ्चालनमा रहेको २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क रहेको छ। एनआइसी एसियाले कात्तिक महिनाका तुलनामा मङ्सिर महिनामा ब्याजदर २ दशमलव ०३ प्रतिशत बिन्दुले घटाएको छ। बैङ्कले मङ्सिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८ दशमलव ९६ प्रतिशत ब्याज दिने भएको छ।