
काठमाण्डौको कीर्तिपुर नगरपालिकामा अहिलेसम्म ८ जनाले मात्रै शैक्षिक ऋण लिएका छन् ।
प्रतिवर्ष २० जनालाई शैक्षिक ऋण उपलब्ध गराउने पालिकाको लक्ष्य भए पनि ८ जनाले मात्रै ऋण लिएका हुन् । पालिकाभित्रका १० वडामा प्रतिवडा दुई जनाका दरले जम्मा २० जनालाई ऋण उपलब्ध गराउने नगरपालिकाको शिक्षा शाखा अधिकृत गोविन्दप्रसाद निरौलाले बताउनुभयो ।
उहाँका अनुसार हरेक वर्ष शैक्षिक ऋणका लागि रकम विनियोजन भए पनि लगानी भने नभएको पाइएको छ । नगरपालिकाले एक विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने व्यवस्था गरेको छ । लिएको ऋण विद्यार्थीले १० वर्षसम्ममा सबै चुक्ता गरिसक्नु पर्ने नगरपालिकाले जनाएको छ ।
विद्यार्थीले ऋण लिएको वर्षदेखि चार वर्षे कोर्ष हुनेले चार वर्ष, पाँच वर्षे कोर्ष हुनेले पाँच वर्षसम्म तीन प्रतिशतका दरले ब्याज मात्रै बुझाउनु पर्नेछ । यसपछि भने प्रतिवर्षको असार मसान्तसम्ममा ब्याज र साँवाको एक लाख रुपैयाँ बुझाउनु पर्ने अधिकृत निरौलाले जानकारी दिनुभयो ।
पालिकाले शैक्षिक ऋण प्राविधिक शिक्षा (स्वास्थ्य, कृषि, इन्जिनियरिङ) अध्ययन गर्ने विद्यार्थीका लागि मात्रै उपलब्ध गराउँदै आएको छ । प्राविधिक शिक्षातर्फ मात्रै ऋणको सुविधा दिने र सक्कल प्रमाणपत्र धितो राख्नु पर्ने भएकाले पनि यसको प्रभावकारिता कम रहेको उहाँको भनाइ छ ।