10 views 0 secs 0 comments

काग तिहारमा रत्नपार्कमा काग सम्मेलन

In देश, समाज
२५ कार्तिक २०८०, शनिबार १०:३७

२५ कार्तिक, काठमाडौँ।

काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ ।

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए ।

दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।

काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्ष कागहरू धेरै नआएको बताए ।

कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ सङ्केत दिँदाको स्वर र अशुभ सङ्केत दिँदाको स्वर निकालेर सुनाए ।