
मनु सुनार
गुल्मी, असोज १३ गते । गुल्मी अस्पतालको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा गोष्ठी गरिएको छ । शनिबार अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेको अध्यक्षता भएको वार्षिक समीक्षा गोष्ठीमा प्रमुख अतिथि समन्वय प्रमुख द्रोण बहादुर खत्रीले अस्पतालमा रहेको जनशक्ति अभावलाई पूणर्ता दिन आफुहरु लागिपरेको बताउनुभयो ।
उहाँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मनोबल उच्च राखेर काम गर्न पनि आग्रह गर्नुभयो । रेसुंगा नगरपालिका वडा नम्बर-८ का वडाअध्यक्ष निरञ्जन काउछाले गुल्मी अस्पतालको विकासका लागि आफुहरु सधैं दत्तचित्त भएर लागिरहेको बताउँदै डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई ढुक्क भएर सेवा प्रवाह गर्न आग्रह गर्नुभएको थियो ।
शुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेयले अहिले देशैभरी डाक्टहरु माथि आक्रमण हुने जस्ता असुरक्षाका घटनाहरु हुने गरेको भन्दै उनीहरुलाई ढुक्क भएर उपचार गर्ने वातावरण बनाउनुपर्नेमा सबै सरोकारवाल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । गुल्मी अस्पतालमा अपुग जनशक्ति पुरा गर्नेतर्फ प्रदेश र संघीय सरकार पनि लाग्नुपर्ने बताउनुभयो । उहाँले गुल्मी जिल्लाकै गहनाका रुपमा रहेको गुल्मी अस्पताललाई आगामी दिनमा थप अब्बल बनाएर लैजान अस्पताल विकास समितिलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा गुल्मी अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा.सोफिया थापाले थोरै जनशक्तिबाट पनि धेरै सेवा प्रवाह गरेको बताउनुभयो । साथै आर्थिक वर्ष २०७९/८० गुल्मी अस्पतालबाट प्रवाह गरिएको सेवाका विषयमा जानकारी गराउनुभएको थियो । अस्पतालका असिम चौधरीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन बोम अर्यालले गर्नुभएको थियो । समीक्षा बैठकमा नेपाल नागरिक समाजका अध्यक्ष गुणानिधि शर्मा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।