प्रकाश लम्साल/ईमेज: बारा, मंसिर १४ । मंसिर २१ गते हुने निर्वाचनको सुरक्षालाई लिएर बाराका मतदाताले चिन्ता ब्यक्त गरेका छन् ।

एक साता यता बाराका उम्मेदबार र उम्मेदवारले प्रयोग गरेका सवारी साधन लक्षित गर्दै तीन वटा बम बिस्फोटका घटना भएपछि मतदाताले सुरक्षाको विषयलाई चिन्ता व्यक्त गरेका हुन् ।
स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको दाबी गरे पनि पछिल्लो समय बम बिस्फोटका घटना बढ्न थालेपछि बाराका मतदाताले चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै विभिन्न स्थानमा बम विस्फोटका घटना हुन थालेपछि चुनावी माहोल नै अन्योलमा परेको स्थानीय कृष्ण सिग्देल बताउँछन् ।
विशेष गरी बाराका ग्रामीण क्षेत्रका मतदाता बढी त्रसित देखिएका छन् । स्थानीय प्रशासनले सुरक्षाको राम्रो प्रबन्धन गर्न नसक्दा ढुक्क भएर मतदान गर्न जाने वातावरण नबनेको इन्दिप कोइरालाले बताए ।
सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले मंसीर २२ गतेसम्म जिल्लाभित्र मदिरा बिक्री–बितरणमा रोक लगाएको छ ।
उम्मेदबार र राजनीतिक गतीबिधीमा त्रास बढेको बताउदै राजनीतिकर्मी मनोज पौडेलले उम्मेदबार र मतदाताको सुरक्षा सरकारले गर्नुपर्ने बताए ।
प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ८ क्षेत्र रहेको बारामा उम्मेदवारहरुले सुरक्षाकै कारण ठूला सभा सम्मेलन गर्न सकेका छैनन् । उनीहरुले घरदैलो अभियानलाई मात्र प्राथमिकता दिएका छन् ।
४ सय ७५ मतदान केन्द्र रहेको बारामा ६६ मतदान स्थललाई अति संवेदनशील, १ सय २८ स्थानलाई संवेदनशील र १ सय ९ मतदान स्थललाई सामान्यमा बर्गीकरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैदबारले निर्बाचन लक्षित सुरक्षा ब्यवस्था कडा पारिएकाले ढुक्क भएर निर्वाचनसम्बन्धी गतिविधि गर्न सुझाव दिए ।
प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरिरहँदा स्थानीय अनिल तिबारीले भने सुरक्षा व्यवस्था कमजोर रहेकाले आफूहरु ढुक्क हुन नसकेको बताए ।
बिस्फोटका घटना बढ्न थालेपछि बारामा निर्वाचनका गतिविधि सुस्त भएका छन् । भरपर्दो सुरक्षा व्यवस्था नभएकाले मतदाताको उत्साह पनि बढेको पाईदैन ।