379 views 0 secs 0 comments

केही अवसरवादी नेताले माओवादी छाडे तर जन्ताले माओवादीको साथ छाडेनन्…

In बिचार
७ जेष्ठ २०७९, शनिबार २०:१२

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । 

यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन गर्न सकिन्छ । यो संख्याले माओवादी गूगलमा पनि भेटिएको र भूगोलमा पनि भेटिएको स्पष्ट हुन्छ ।

‘अब माओवादी सकियो, पत्तासाफ भइसक्यो’ भनेर झ्याली पिटिरहेको समयमा यतिका धेरै माओवादीहरू फेरि कसरी निस्के ? जमिनमुनिबाट निस्के कि जमिन माथिबाट निस्के ? पक्कै पनि यो अनुसन्धानको विषय बनेको छ तर फेरि पनि एकपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने नाम गरेको मान्छेसँग सकिन्न, यो मान्छेले के–के गर्छ, गर्छ, चालबाजी नै बुझिन्न भन्ने धेरैलाई परेको छ । परिस्थिति यस्तो बनेको छ कि माओवादीको उपाध्यक्ष नभएको त कुनै गाउँपालिका नै बाँकी छैन । 

माओवादीको बिउ जोगाउने चिन्ताबारे थरीथरीका विद्वानहरूले मिडियामा दन्तबझान गरेको बेला हजारौंको संख्यामा वडाध्यक्ष र सदस्यहरू एकाएक पैदा हुनु यो त अद्भूत प्रजनन क्षमता भएकी महिलाले एकैपटक १४ वटा सन्तानलाई जन्म दिएजस्तै भयो । खैर यतिधेरै प्रशंसा पनि नगरौं तर यो स्तम्भकारलाई त धेरै अगाडि कालगतिले मरेको मान्छे अचानक फर्किएर आएजस्तै फिलिङ भइरहेको छ ।  

धेरैले भन्छन् – माओवादीले गठबन्धनका कारण चुनाव जितेको हो । माओवादीले यसरी चुनाव जितेको हो भनेर मलाई भूइँफुट्टा तर्क पेश गर्नु छैन तर सोझो अर्थमा जनताले भोट हालेका कारण चुनाव जितेको हो । किनकि माओवादीलाई भोट हाल्नुभन्दा हात काटेर फाल्छु भन्नेहरू गठबन्धनका आजीवन सदस्य छन् । अनि अर्को कुरा तेश्रो शक्ति हुँदैमा माओवादीले कसरी जितेको भयो त भन्ने पनि प्रश्न उठ्न सक्छ ।

राजनीतिक जीत गणकहरूले देखाएको अंकगणितबाट मात्रै प्रमाणित हुँदैन, माओवादी मात्रै यस्तो पार्टी हो, जसले कुन पार्टीलाई ठूलो बनाइदिने, कुन पार्टीलाई सानो बनाइदिने भन्ने ल्याकत राख्दछ । 

जतिखेर माओवादीले संविधानको रक्षाका निम्ति ‘हामी यहाँ छौं’ भनेर सडकमा खडा भयो, हो त्यही हो माओवादीको जीत । जतिखेर माओवादी संसद विघटनविरुद्ध गर्जियो, त्यही थियो माओवादीको जीत । 

आज लोकतन्त्र र संविधानवादप्रति विश्वास गर्ने महान् नेपाली जनताले माओवादीलाई फेरि एकपटक सच्चिएर इतिहासको जगमा खडा भएर उभिनका लागि जनमत प्रकट गरेका छन् । आफ्ना आधार ईलाकाहरू रोल्पा, रुकुम, सल्यान, जाजरकोट, गोरखाजस्ता क्षेत्रहरू सुरक्षित गर्दै गुल्मी, धादिङ, काभ्रेतिर विस्तार हुनसक्नु माओवादीको राजनीतिक जीत हो ।

प्रतिगामी तत्वहरू जोसँग माओवादीको प्रमुख वैचारिक लडाइँ थियो, त्यो शक्तिले टाउको उठाउन नपाउनु नै माओवादीको अर्को जीत हो । यसरी माओवादी अंकगणितमा तेस्रो हुनु परे पनि राजनीति र रणनीतिमा पहिलो नै हो । आज माओवादीले जितेका क्षेत्रमा आदिवासी जनजाति, महिला, दलित, युवा सबैको अनुहार देखिएको छ । अन्य कुनै पनि पार्टीमा नदेखिएको अनुहार माओवादीमा देखिएको छ । 

समावेशी, समानुपातिक सिद्धान्तको कार्यान्वयन यदि कसैले गरेको छ भने त्यो माओवादीले गरेको देखिएको छ । यसरी हेर्दा माओवादी होमस्टेमा गएर फूल रिल्याक्स गर्ने अवस्थामा त छैन तर रिभर साइडतिर गएर माछा खाने अवस्थामा भने पक्कै छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको व्यक्तिगत रिसइबीका कारण डा. बाबुराम भट्टराईले पार्टी नै त्यागेर हिँडे । माओवादी पार्टीकै तर्फबाट देशको प्रधानमन्त्री भइसकेका मान्छेले त्यसो गर्नु कार्यकर्ता तथा जनताका लागि बिडम्बना थियो, पूर्व प्रधानमन्त्री भन्ने शब्दको अपमान थियो ।

पार्टी छाडेर मात्रै बाबुराम चुप बसेनन्, माओवादी आन्दोलनको बदनाम गर्नका लागि ‘प्रचण्डले अर्बाैं रुपैयाँ विदेशमा राखेको’ अप्रमाणित कुरा सार्वजनिक कार्यक्रममा भाषण गर्न समेत भ्याए । 

माओवादीको एउटा खम्बाले नै यस्तो अन्टसन्ट कुरा गर्न थालेपछि गोरखामा मात्र होइन, देशैभर माओवादीको संगठन कमजोर बन्दै गयो । किनकि गोरखा जिल्ला पनि बाबुरामको जसपातिरै हेलियो । यतिबेला उनी आफ्नो जिल्लामा ‘क्लीन स्वीप’ भएका छन् । माओवादीले यो आलेख लेख्दै गर्दा नतिजा आएका ७ मध्ये ६ पालिकामा विजय हाँसिल गरेको छ । यो विजयलाई धेरैले गोरखामा माओवादी २०६४ सालकै आसपासमा फर्किएको तर्क गरेका छन् । त्यतिखेर संविधानसभा निर्वाचनमा माओवादीले ३ वटा क्षेत्रमा अत्यधिक मतान्तरसहित चुनाव जितेको थियो । 

यसपालि गोरखामा माओवादी अन्य कुनै पनि पार्टीसँग गठबन्धन गरेर चुनाव लडेको थिएन, कांग्रेससँग पनि गरेको थिएन । बाबुरामले छाता ओढेर पिपलको चौतारीमा उभिएर जसपाकै प्रचार गरिरहेकै थिए । यिनको साथमा हिसिला यमी पनि सँगै थिइन्, जसले माओवादीलाई एक भोट पनि नदिन कानेखुशी गरिरहेको थिइन् । बाबुराम फ्याक्टरले जति नै खुरापातको प्रयास गरे पनि गोरखाका जनताले माओवादीलाई ‘छप्पड फाडके’ मत दिएका छन् र भट्टराई कम्पनीलाई रक्षात्मक मात्र होइन, धूलोपिठो पारेका छन् । 

यसरी गोरखा जिल्लालाई मात्रै उदाहरण स्वरूप पेश गर्दा पनि माओवादीको ‘कमब्याक’लाई ‘नेताले माओवादी छाडेर गए पनि जनताले माओवादीलाई नछाडेको’ भन्न सकिन्छ र देशभरका क्षेत्रहरूमा माओवादीको कमब्याकलाई यही अर्थमा लिन सकिन्छ । केही महिनाअगाडि केपी ओली सरकारले गरेको संसद विघटनलाई ‘यो त धेरै राम्रो हो’ भन्दै माओवादी छाडेर जाने अवसरवादी नेताहरूले आज ‘चुनाव धाँधली भयो’ भन्न थालेका छन् । 

मृत्यु शय्यामा रहेको बिरामीलाई स्वर्गको यात्रा सहज होस् भनेर गाईदान गरेजस्तै माओवादी ‘गाईदान’ गर्ने नेताहरू धेरै निस्किए तर मेडिकलबाट निको भएर बिरामी हिँडेर घर फर्किएजस्तै माओवादी यतिखेर बौरिएको छ । आफ्नो जीवनलाई फेरि एकपटक जोगाउने कोशिश गरेको छ ।

बाबुरामसँगै मोहन वैद्य ‘किरण’देखि विप्लवसम्म, रामबहादुर थापा ‘बादल’देखि टोपबहादुर रायमाझीसम्मका नेताले माओवादीलाई पालैपालो गाईदान गरे । हालसालै बादलले त ‘माओवादीले हार स्वीकार गरिसकेको’ भनेर खाँटी एमालेकोभन्दा पनि कडा अभिव्यक्ति दिन भ्याए । 

यी बादलले दोस्रो संविधान सभाको चुनावमा पनि माओवादी निर्वाचनमा भाग लिँदा वैद्य समूहमा लागेर नमूना मटपेटिकामाथि बन्चरो प्रहार गरेका थिए । त्यो फोटो गूगलमा अझै भेटिनसक्छ । प्रचण्डलाई दिनुसम्म दुःख दिए । जंगलमा १२ किलोग्राम भुँडी सहितको फोटो खिचाएर नाटक गरे । माओवादीलाई भोट नहाल्न उर्दी गरेका बादल अन्ततः जिउधनको रक्षाका लागि प्रचण्डको शरणमा आएका थिए ।

यिनले सपनामा पनि नचिताएको गृहमन्त्री पद पाए तर माकुरोले आफ्नै आमालाई खान्छ भनेजस्तै यिनले माओवादीलाई खान बेर लगाएनन् । माओवादी सकिन्छ त्यहाँ बसेर के काम, बरु एमालेमा गए बादल गुट खडा गरेर, ‘माओवादीबाट आएको समूह’ भन्ने माओवादीकै नाम भजाएर बेला–बेला मन्त्रीको भाग पाउन सकिन्छ भन्ने हो । उनीसँगै गएका टोपबहादुरदेखि लेखराजसम्मको छोटो बुद्धि पनि यस्तै थियो । 

‘केजातिलाई घ्यू पच्दैन’ भनेजस्तै आज यिनीहरूले आफ्नो शरीरमा लागेको बोसो पगाल्नका लागि माओवादीविरुद्ध हमला गरिरहेका छन् । लाजसँग पनि लाज लजाउँछ भने जस्तै एमालेको बैठकको कुनै कुनामा सफाइ गर्ने मान्छेझैं उभिएर यिनीहरू अझै कति दिनसम्म पिसाबको न्यानोमा रमाउँछन्, त्यो थाहा पाउन संसदीय निर्वाचनसम्म कुर्नुपर्ला । जहाँसम्म माओवादीको मूलधारको कुरा छ, प्रचण्डको कुरा छ, त्यो कुनै मन्त्री बन्ने स्वार्थसँग जोडिएकै छैन । 

अर्का क्रान्तिकारी मनुष्य छन्, नेत्रविक्रम चन्द ‘विप्लव’ । नाम क्रान्तिकारी, काम आत्मसमर्पणवादी । यिनी संसदीय व्यवस्थाविरुद्ध खरो कुरा त गर्छन् तर माओवादीलाई चुनाव हराउन सधैं टुप्लुक्क आइपुग्छन् । विगतमा पनि चुनावमा बम पड्काएर माओवादी कमजोर बनाए, प्रचण्डलाई समेत टार्गेट गरे, चन्दा उठाए, कता के–के गरे । अहिले एमालेसँग मिलेर केपी ओलीसँग काँधमा काँध मिलाएर चुनावमा भाग लिन आइपुगे तर विप्लवले एमालेसँग मिलेर जतिसुकै गठबन्धन गरे पनि रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर निर्वाचित भएका छन् । 

अर्का छन् खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ । यिनले पनि आफ्नै गाउँमा रामधुलाई भेटेका छन् । संसार जितेर छाड्छु, म सबैलाई परास्त गर्न सक्छु भन्ने यिनी आज आफ्नै गाउँपालिकामा पराजित भएका छन् । माओवादी हराउन नाङ्गै लागिपरेका यिनीलाई आफ्नै वडामा माओवादीले धुलो चटाइदियो । चन्दा उठाउनका लागि यिनी आवतजावत गर्ने सुदूरपश्चिमका धेरै स्थानीय तहमा माओवादीको विजय भएको छ । यसबाट फेरि पनि के पुष्टि हुन्छ भने नेताले माओवादी छाडेर गए पनि जनताले छाडेका छैनन् ।