301 views 2 secs 0 comments

काठमाडौँ उपत्यकाको तापक्रममा हल्का सुधार…

In देश
५ पुष २०७८, सोमबार १२:५०

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबारको भन्दा ०.६ डिग्री सेल्सियसले तापक्रममा सुधार आएको हो । आइतबार काठमाडौँको न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्री सेल्सियस मापन भएको थियो ।
‘अधिकतम तापक्रम दिउँसो मात्र थाहा हुन्छ । तर आज न्यूनतम तापक्रममा हल्का सुधार आएको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले भनिन्, ‘यसको अर्थ अब तापक्रम घट्दैन भन्ने होइन । हिउँद गहिरिँदै जाँदा चिसो अझ बढ्छ ।’
काठमाडौँमा मङ्सिर दोस्रो सातादेखि चिसो बढ्न थालेको हो । देशभर चिसो बढेको छ । सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । तराईमा हुस्सु/कुहिरो लाग्ने गरेको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ । मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।