कस्तो मान्छेलाई मत दिएर जिताएछु भनेर पछुतो मान्ने अवस्था आउन दिनेछैन : गगन थापा

In राजनीति
१ पुष २०७८, बिहीबार १८:२१

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले नागरिकलाई पार्टीप्रति भरोसा दिलाउनु आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।
पार्टी कार्यालय सानेपामा आज बिहीवार पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले नागरिकले पार्टी र नेताहरूलाई भरोसा नगरिरहेको अवस्थामा आफूले नागरिकको भरोसा बढाउने बताउनुभएको छ । उहाँले मतदाता सामु गरेका वाचाअनुसार काम गर्ने र एक दिन पनि कतै नचुक्ने तथा गलत काममा नलाग्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
‘मैले कस्तो मान्छेलाई मत दिएर जिताएछु भनेर पछुतो मान्ने अवस्था आउन दिनेछैन, पूरै नैतिकताभित्र रहेर काम गर्नेछु’, थापाले भन्नुभयो ।
उहाँले आफू कुनै समूहमा रहेर चुनाव लडे पनि अब सिङ्गो पार्टीको महामन्त्री भएकाले कुनै समूह, गुट नभनी काम गर्ने पनि बताउनुभयो । सबै मिलेर सभापतिलाई बल, तागत दिएर सही ठाउँमा पुर्याउने भन्दै महामन्त्री थापाले चुनावी प्रतिस्पर्धाका क्रममा कसैलाई अन्याय वा विवाद भएको भए सम्बन्धलाई फेरि सुमधुर बनाउन कोसिस गर्ने बताउनुभयो ।
मत धेरै पाउनु भनेको धेरै जिम्मेवारी वहन तयार हुनु भएको उल्लेख गर्दै थापाले पार्टी सञ्चालनमा व्यक्तिको वर्चस्व रहने चलनको अन्त्य गर्न पहल गर्ने पनि बताउनुभएको छ ।