
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिगत प्रयोजनका गहनाका नाममा दैनिक करिब २० किलो सुन तस्करी हुने गरेको खुलेको छ । ५० ग्रामसम्म सुनका गहना भन्सार महसुलविना ल्याउन सकिने सुविधाको दुरुपयोग भई ठूलो मात्रामा सुन तस्करी हुँदै आएको हो । भन्सार कार्यालय र प्रहरीले यस्तो तस्करीविरुद्ध सोमबारबाट कारबाही अभियान सुरु गरेको छ ।सोमबार साँझसम्म भन्सार र प्रहरीले तीन सय ३२ जनाले ल्याएको करिब १८ किलो सुन नियन्त्रणमा लिई भन्सार तिर्न लगाएको छ । ५० ग्राम सुनलाई गहनाको आकार दिएर तस्करी हुने गरेको पाइएपछि यस्तो कारबाही थालिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए ।
‘५० ग्रामसम्म सुनका गहना भन्सारविना नै ल्याउन सकिने सुविधा छ, त्यसको व्यापक दुरुपयोग भएको पाइएपछि हामीले विमानस्थलमा अप्रेसन चलाएका हौँ,’ उनले भने,‘यात्रुलाई भरियाका रूपमा प्रयोग गरी ठूलो मात्रामा सुन तस्करी हुने गरेको पाइयो ।’ एकैदिन ठूलो मात्रामा यसरी व्यक्तिगत प्रयोजनका नाममा तस्करी हुने गरेको अप्रेसनबाट पुष्टि भएको उनले बताए । यसरी नियन्त्रणमा लिइएकालाई भन्सार कार्यालयले प्रति १० ग्राम नौ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिराएको छ ।