507 views 6 secs 0 comments

जसले नागरिकता पाएनन्, भोटको के कुरा

In देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:३७

महोत्तरी (हरिणमरी) : हरिणमरीकी ६० वर्षीया जोगोदेवी चमारले एक पटक पनि भोट हाल्न पाएकी छैनन्। दलित समुदायकी जोगोदेवीसँग नागरिकता छैन। त्यसैले मतदाता नामावलीमा उनको नाम छैन।

नागरिकता बनाउनकै लागि उनी १० वर्षदेखि भौतारिँदै आएकी छन्। हरेकजसो चुनावम भोट माग्ने नेताहरूसँग नागरिकता बनाइदिन उनी गुहार माग्छिन् तर उनको पीरमर्का बुझ्ने कोही भेटिएन।

मानसिक सन्तुलन बिग्रेका उनका श्रीमान् सत्यनारायण चमार बितेपछि उनलाई झन् समस्या परेको छ। ‘श्रीमानको नागरिकता छैन, त्यसैले मेरो पनि नागरिकता बन्दैन’, उनी भन्छिन्, ‘उहाँ मरेर जानुभयो, अब कहाँबाट ल्याउने कागजपत्र?’

१९ वर्षीय अपाङ्ग छोरीको हेरबिचार गर्दै जागोदेवी बनीबुतो गरेर जीवन चलाउँछिन्। ‘नागरिकता नभएर भोट पनि खसाल्न पाएको छैन’, चारैतिर चुनावी रौनकले छोएको बेला उनी गहभरी आँसु बनाएर भन्छिन्, ‘न एकल महिला सुरक्षा भता दिन्छन् न त छोरीकै जन्म दर्ता बनेको छ।’ नागरिकता बने समाजिक सुरक्षा भत्ता पाउने आशा त छँदैछ, त्यो भन्दा बढी भोट खासालेर गरिबको पक्षमा काम गर्ने नेता चुन्ने उनको धोको छ।

जागोदेवी जस्तै पीडामा छन्, उनकी छिमेकी अघनीदेवी सादा। उमेरले ६२ वर्ष पुगकी अघनीको पनि नागरिकता बन्न सकेको छैन। नागरिकता नभएपछि मतदान गर्न पाउने कुरै भएन। एकल महिला अघनी पनि नागरिकता नबन्दा समाजिक सुरक्षा भताबाट बञ्चित छन्।

‘नागरिकता भए पो भोट दिनु’, उनको पनि उस्तै गुनासो छ, ‘नागरिकता बनाइदिनु पर्‍यो।’ उनको नागरिकता नहुँदा उनका सन्तानले पनि नागरिकता पाउन सकेका छैनन्। ‘मर्नु भन्दा पहिला मेरो नाम भएको नागरिकता हेर्ने मन छ’, भन्छिन्, ‘भोट खसालेर उम्मेदवार चुन्न मन छ।’

अघनीकी छिमेकी रेसमा सदा पनि नागरिकता नपाएर चिन्तित छन्। चार पुस्तादेखि हरिणमरीमा उनको बसोबास छ। श्रीमान् बितेको वर्षौँ भयो। उनका श्रीमानको पनि नागरिकता थिएन। आवश्यक कागजपत्र जुटाउन नसक्दा उनको पनि नागरिकता बन्न सकेको छैन। ‘नेताहरू भोट माग्न आउँछन्, नागरिकता बनाउने आश देखाउँछन्’, उनको गुनासो छ, ‘तर गाउँबाट भोट लिएर गएपछि फर्केर आउँदैनन्।’

नागरिकता नहुँदा वर्षौँदेखि मतदानबाट वञ्चित दलित समुदायकी जागो, अघनी र रेसमा प्रतिनिधि पात्रमात्र हुन्। उनीहरू जस्ता हरिणमरीका गरिब, दलित, भूमिहीन सुकुमबासीहरू नागरिकता अभावमा जीवन भर मतदानबाट वञ्चित रहँदै आएका छन्।

नागरिकता नभएपछि वैदेशिक रोजगारीमा जान राहदानी बनाउन पनि नपाएको सुवदी सादा मुसहरले दुखेसो पोखे। ‘हामीसँग नागरिकता छैन। सरकारको सेवासुविधाबाट टाढै बस्नु पर्छ। दुःख कसले सुनिदिन्छन्?’ उनले प्रश्न गरे।

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा हरिणमरीका यी बासिन्दाहरू गरिबको पीरमर्का बुझ्ने उम्मेदवारको खोजीमा छन्।

यो क्षेत्र प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पर्छ जहाँबाट १२ जना चुनावी प्रतिस्पर्धामा छन्। महोत्तरीमा प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्र छन्। १५ स्थानीय तह रहेको महोत्तरीमा १० नगरपालिका र ५ गाउँपालिका छन्।