बुटवल: कञ्चन गाउँपालिकाको रुद्रपुरमा कृष्णबहादुर फौजदारको दुईतले घर छ। उब्जनी हुने खेत पनि छ। पक्की सडक, खानेपानीको राम्रो व्यवस्था छ। तर, यति धेरै संरचना बनेको चार दशकदेखि भोगचलन गर्दै आएको उनको जग्गाको पुर्जा भने छैन।
उनको मात्रै होइन, रुद्रपुर त्यस्तो गाउँ हो, जहाँका ९० प्रतिशत घरधुरीको लालपुर्जा छैन । जिल्लाकै धेरै जनसंख्या भएको साबिक रुद्रपुर गाविस (हाल कञ्चन गाउँपालिका) मा विगतमा पनि उम्मेदवारको बसोबास नै रुद्रपुरमा हुन्थ्यो। भोट माग्न आउनेले दिने रेडिमेड आश्वासन पनि लालपुर्जा दिलाउने नै हुन्थ्यो । मत माग्ने कसैले बाचा पूरा नगरेका स्थानीय रुष्ट छन् । ‘जतिपटक भोट माग्न आए, त्यतिपटक पुर्जा माग्यौं । कहिल्यै हँदैन भनेनन् । फर्कीफर्की भोट माग्न आए । पुर्जा दिएनन्’, कृष्णबहादुरले दुःखेसो पोखे । पुर्जा नभएकै कारण रुद्रपुरवासीले बैंक तथा वित्तीय संस्थाबाट ऋण झिक्न पाउँदैनन् । ऋण निकालेर केही व्यवसाय गर्न पनि नसकिएको फौजदारले बताए ।
अचम्मको कुरा त के छ भने रुद्रपुरका सरकारी भवनको पनि लालपुर्जा छैन । लालपुर्जा नभएकै कारण स्वास्थ्य चौकीको नयाँ भवन बन्न सकेको छैन । वडा कार्यालयदेखि प्रहरी कार्यालयसम्म पुर्जाविहीन जग्गामा भवन बनाएर बसेका छन् ।
रूपन्देही कञ्चन गाउँपालिका सोगाकी कमला परियारको परिवार दुई कठ्ठा खेतमा उब्जिएको अन्न र ज्याला मजदुरीको आम्दानीले पालिएको छ । झन्डै दुई दशकअघि पर्वतबाट तराई झरेकी उनी मजदुरीको सिलसिलामा हिँड्दा हिँड्दै रुद्रपुरको खाली जग्गामा बसे । खेतमा माछा पाल्नका लागि खाडल खने । ऋण निकाल्न बैैंक पुगेका उनीहरू रित्तै फर्किए । ‘पुर्जा नभएपछि जग्गा भएर के गर्नु, आफूसँग धन छैन । बैंकले ऋण पत्याएन’, उनले भनिन् । घरमै बसेर व्यवसाय गर्ने सोचमा रहेकी उनले त्यसो हुन नसकेपछि पतिलाई विदेश पठाइन् ।
रूपन्देही ५ मा पर्ने यो क्षेत्रबाट ०६४ मा एमालेका रामनाथ ढकाल विजयी भए । ०७० मा कांग्रेसका भरत शाह निर्वाचित भए । कसैले पूरा नगरेको स्थानीयको गुनासो छ । ०७२ मा भूमिसुधार आयोगले रुद्रपुरमा लालपुर्जाका लागि लगत संकलन गर्यो । ६ हजार चार सय घरधुरीले लगत संकलन फारम भरे । तर, मुद्दा परेपछि अदालतले रोक्का गर्यो, त्यो प्रक्रिया नै अवरुद्ध भयो । योभन्दा अघि पनि पटक–पटक लालपुर्जाका लागि नापी भएको थियो । तर, पुर्जा दिइएन ।
यो क्षेत्रको जनसंख्या करिब ४५ हजार छ । करिब ६ हजार घरधुरी छन् । यो बस्तीमा करिब दुई हजार घरधुरी भूतपूर्व सेनाहरूको मात्रै छ ।
स्थानीय तहको निर्वाचनमा पनि त्यही मुद्दा चर्को रुपमा उठ्यो । कसैले हुन्न भनेनन्, कसैले पनि गरेनन् । अहिले कांग्रेसका भरत शाह, माओवादीका डिलाराम आचार्य, फोरमका वकिल मुसलमान त्यस क्षेत्रका उम्मेदवार छन् । मतदाताले पुर्जा दिनेलाई भोट भन्ने अभियान नै चलाएका छन् । पहिले जस्तै सबै नेताको आश्वासन छ । पुर्जाको चुनावी मुद्दा रुद्रपुर मात्रै होइन रूपन्देहीका अधिकांश क्षेत्रमा छ ।
बुटवल आसपासको तिनाउ नदी बगरमा पुर्जा दिने आश्वासनको होडबाजी चलेको धेरै भयो । उम्मेदवारहरू एकअर्कालाई आक्षेप लगाउँदै सुकुम्बासी र अव्यवस्थित बस्तीमा पुगेर मत मागिरहेका छन् ।
रूपन्देही क्षेत्र नम्बर १ को देवदह, २ को तिनाउ बगर क्षेत्र र मुर्गिया, ३ को भैरहवा र ५ को रुद्रपुर क्षेत्रका मतदाताको मतले नै जित÷हारको निर्णय हुन्छ । त्यसैले पनि उम्मेदवारहरूले सुकुम्बासी बस्तीमा पुर्जाको आवश्वासन दिएर मत मागिरहेका छन् ।