
जिल्ला प्रहरी कार्यालय बाराको गस्ती टोलीले ८ वटा मोटरसाईकल र ४ साईकलसहित तस्करी गरी भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ । सिमावर्ती भारतीय बजार घोडाशहनबाट भन्सार छली ठूलो परिमाणमा भारतीय सामान भित्र्याइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले बिहीबार साँझ सिम्रौनगढ नगरपालिका–९, बसवरिया गाउँछेउमा उक्त सामान बरामद गरेको हो ।
गस्ती टोलीले तस्करीमा प्रयोग भएको ८ थान मोटरसाइकल, ४ थान साईकल, २१ क्वीन्टल भारतीय प्याज, ४८ थान प्लास्टिकको कुुर्सी, ९ टिन १३५ लिटर खाने तेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
बरामद सामान आवश्यक कारवाहीका लागि शुक्रबार वीरगञ्ज भन्सार कार्यालय चलान गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।