
सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने सरकारले जनाएको छ ।चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।
बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने निर्णय गरेको हो । ‘अधिकतम खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा नबढ्ने गरी बिक्री वितरणको व्यवस्था मिलाउने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालले भने, ‘सोहीअनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएका छौं ।’ उक्त निर्देशनअनुसार विभागले बजार अनुगमन तीव्र पारेको उनले दाबी गरे । सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि हाल बजारमा चिनीको मूल्य अकासिएको छ । व्यापारीले एक किलो चिनीको ८५ रुपैयाँसम्म लिन थालेका छन् ।
मन्त्रिपरिषद्ले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । अहिले मूल्य बढेर ठाउँअनुसार किलोमा १५ देखि २० रुपैयाँ महँगो भइसकेको छ । सरकारले तत्काल कदम नचाले मूल्य बढेर प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्म पुग्ने जानकारहरू बताउँछन् । ‘चाडबाडकै अवसरमा चलखेल बढी हुन्छ । परिमाणात्मक बन्देजले कालोबजारीलाई थप प्रोत्साहन मिलेको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘बजारभाउ नियन्त्रण गर्न तत्काल आयात फुकुवा अथवा मूल्य नबढ्ने प्रतिबद्धता हुनुपर्छ ।’
‘उद्योगीहरूले मूल्य नबढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोहीअनुसार मूल्य सार्वजनिकसमेत गरेका छन्,’ प्रवक्ता ढकालले भने, ‘खुद्रा बजारमा अनुगमन तीव्र बनाएर मूल्य नियन्त्रण गर्छौं ।’ बजार अनुगमन जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले दैनिक दुई/तीन टोली अनुगमन खटाएको बताए । बढी मूल्य लिने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको उनले बताए ।
‘अनुगमनको क्रममा ठाउँअनुसार ७० देखि ८० रुपैयाँसम्म लिने गरेको भेटियो,’ उनले भने, ‘बढी मूल्य लिनेलाई २४ घण्टाभित्र स्ष्टीकरण पेस गर्न निर्देशन दिएका छौं ।’ बिलबीजक जारी नगरी कारोबार गर्ने मंगलबजारस्थित गणेश स्टोरमा सिलबन्दी गरेको उनले बताए । ‘चिनी ७५ रुपैयाँमा बिक्री गरेको थियो । गोदाममा थप २७ बोरा चिनीको बिलबीजक देखाउन सकेन,’ उनले भने, ‘उक्त स्टोर सिलबन्दी गरेका छौं ।’ चाडबाडलाई लक्षित गरी अनुगमन खाद्य वस्तुमै केन्द्रित गर्ने बताए । विभागका अनुसार साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको बिक्री मूल्य पनि ७० रुपैयाँ नै निर्धारण गर्ने जनाएको छ ।
सरकारले चाडबाडकै लागि सुपथ मूल्य पसलमा बढी मूल्य निर्धारण गरेको गुनासो थियो । त्यसलगत्तै विभागले अर्को व्यवस्था नहुन्जेलका लागि उक्त पसलबाट चिनी बिक्री बन्द गराएको थियो । हाल साल्टले पनि ७० रुपैयाँमा बिक्री गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
डिर्पाटमेन्ट स्टोरले ५९ देखि ७२ रुपैयाँमा बिक्री गर्दा साल्टबाट भने महँगोमा बिक्री भएको थियो । वर्षौंदेखि चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङको डिलर मूल्य ७३ रुपैयाँ निर्धारण गरिएको छ । तर, हाल प्रतिकिलो ७० रुपैयाँमै बिक्री गर्ने निर्णय भएको ट्रेडिङका विभागिक प्रबन्धक ब्रजेश झाले बताए । उनले यसअघि पनि ७० रुपैयमै बिक्री गरेको दाबी गरे ।
यस्तै, विभागले बिगमार्टलाई पनि ७० रुपैयाँभन्दा कम मूल्यमा बिक्री गर्न निर्देशन दिएको छ । भाटभटेनीले ५९ रुपैयाँमै उपलब्ध गराए पनि मार्टलाई पनि मूल्य घटाउन निर्देशन दिएको महानिर्देशक गौचनले बताए । यस्तै मन्त्रालयले उखु किसानको बक्यौता तत्काल भुक्तानी गर्न उद्योगीहरूलाई पत्र पठाउने निर्णय गरेको छ । १३ चिनी उद्योगमध्ये ७ उद्योगले भुक्तानी गर्न बाँकी छ । ती उद्योगहरूले २ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक महासंघले जनाएको छ । उद्योगीसँगै सरकारले पनि १ अर्ब २८ करोड बक्यौता भुक्तानी गर्न बाँकी रहेको महासंघको दाबी छ ।
दुई पानी उद्योगमा सिलबन्दी
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई पानी उद्योगमा सिलबन्दी गरेको छ । विभागले बनेपास्थित पञ्च वेभरेज प्रालि र बुद्धल्यान्ड मेलम्ची मिनरल वाटर प्रालिको उत्पादनमा सिलबन्दी गरेको हो । विभागको प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार अनुगमनका क्रममा अनुज्ञापत्र नवीकरण नगरेको, जारमा सुरक्षण सिल नलगाएको, प्रशोधन कक्ष सफा नभएको, बोतल तथा जार म्यानुअल फिलिङ गरेको र प्रशोधित पानीको उत्पादन निर्देशिका अनुरूप मापदण्ड पूरा नगरेको फेला परेपछि सिलबन्दी गरेको जनाइएको छ । विभागले मंगलबार नयाँ बानेश्वरस्थित संगम स्विट्सको गोदाम सिल गरी बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।