501 views 1 sec 0 comments

झगडियालाई कारबाही गर्न खोज्दा इन्सपेक्टरकै सरुवा

In देश, समाज
१२ मंसिर २०७४, मंगलवार ११:०८

 

विराटनगर : अत्यधिक मदिरा सेवन गरेर झगडा गर्नेमाथि कारबाही गर्न खोज्दा मोरङमा सोमबार एक प्रहरी अधिकृतको सरुवा भएको छ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन कार्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले काज सरुवा गरेको हो। स्रोतका अनुसार पथरी दरबन्दी रहेका कार्कीलाई कारबाही स्वरुप संघीय प्रहरी इकाई कार्यालय धरानमा सरुवा गरिएको छ। उनको ठाउँमा प्रहरी निरीक्षक विजय श्रेष्ठलाई पठाइएको छ। मदिरा सेवन गरेर झगडा गरेकालाई कारबाही गर्न खोज्दा निर्वाचनका मुखमा उल्टै प्रहरी प्रमुखकै सरुवा गर्नुलाई प्रहरी अधिकारीले सत्ताको दुरुपयोगका रुपमा लिएका छन्।

मोरङको पथरीशनिश्चरे १ मा शनिबार साँझ मदिरा सेवन गरेका दुई पक्षबीच भएको झगडामा प्रहरीले हस्तक्षेप गरेको थियो। उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङले आफ्नै घर अगाडि केही युवाहरुमाथि आक्रमण गरेपछि घटनाले यो रुप लिएको प्रहरीको भनाइ छ। पथरीशनिश्चरेमा गुण्डागर्दीको नेत्रृत्व गर्ने गरेको आरोप लागेका तामाङ केही समय अघि एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए। गुण्डागर्दीमा संलग्न रहेका युवाहरुलाई साथमा लिएर अत्यधिक मदिरा सेवन गरेका धनकुमारले भीम रसाईली र देव साम्पाङ् लगायतका युवामाथि बाटो ढुकेर आक्रमण गरेको जानकारी प्रहरीले दिएको छ। त्यस लगत्तै तामाङ ती युवा लिएर रसाईलीको घर घेर्न पुगेका थिए।

घेराउ गरेर घरमा आगजनीको प्रयास गर्दै गर्दा पुगेको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो। त्यस लगत्तै तामाङ फरार बनेका थिए। उक्त समूहले रसाइलीकी सात महिनाकी गर्भवती पत्नीमाथि समेत कुटपिट गरेको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार आइतबार पथरीमा हुने भनिएको एमालेको पूर्व घोषित चुनावी सभाको तयारी गरेर घर फर्कँदै गर्दा तामाङ नेत्रृत्वको गुण्डा समूहले रसाइली र साम्पाङमाथि आक्रमण गरेको हो। ‘हामी पार्टीले आयोजना गर्ने भनेको कार्यक्रमको तयारी गरेर घर फर्कदै थियौं,’ रसाईलीले भने, ‘बाटो ढुकेर बसेका स्थानीय व्यक्तिहरुले नै आक्रमण गरे।’ उनका अनुसार त्यसपछि घरमा घेरा हाल्न पुगेको उक्त समूहले घरमा आगो लगाउने प्रयास गर्दै गर्दा प्रहरी पुगेर रोकेको थियो।

प्रहरीले रसाइलीलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय पथरीमा ल्याएर राख्नु परेको थियो। गुण्डागर्दीमा संलग्नलाई कारबाही गर्ने तयारी प्रहरीले गर्दै गर्दा तामाङले ‘जे गरे पनि चुनाव भरी आँखा चिम्लिदिनु पर्‍यो’ भन्दै गरेको आग्रह एउटा समूहले नमानेपछि आइतबार इन्सपेक्टर कार्कीलाई नै कारबाही र सरुवा गरिदिने धम्की दिएर फर्किएको थियो। त्यसको भोलिपल्ट सोमबार कार्कीलाई धरान काज सरुवा गरिएको छ।

राम्रो काम गरेर समाजलाई गुण्डागर्दी मुक्त बनाउन खोज्ने अभियानमा सक्रिय रहेका प्रहरी अधिकृतलाई सरकारको निर्देशनमा काज सरुवा गरिएको भन्दै प्रहरी अधिकारीहरुले असन्तुष्टि पोखेका छन्।

‘गुण्डागर्दी नियन्त्रण गरेर शान्त समाज निर्माण गर्नु पर्छ भनेर लागेको एउटा प्रहरी अधिकृतलाई गुण्डागर्दी र दादागिरीमा संलग्नकै दवावमा सरुवा गरिएको हो,’ एक प्रहरी अधिकृतले भने, ‘फट्याई गर्नेलाई कारबाही गर्न खोज्दा उल्टै सरुवा गर्नुले प्रहरीको काम गर्ने मनोवल नै गिरेको छ।’ ती अधिकृतले भने, ‘राम्रो काम गर्नेलाई सरुवा गरेर सरकारले नराम्रो काम गर्नलाई उक्साइरहेको छ भन्ने पुष्टि हुन्छ।’

स्रोतका अनुसार तामाङ र स्थानीय कांग्रेस नेता केशव दुलालको दवावमा सरकारको निर्देशनमा कार्कीको सरुवा गरिएको हो। वाणिज्य संघका अध्यक्ष तामाङलाई गत भदौमा इलाका प्रहरी कार्यालय पथरीले गुण्डागर्दीमा संलग्न भएको आरोपमा सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा पनि चलाएको थियो। एक प्रहरीका अनुसार तामाङ त्यही बेलादेखि कार्कीको सरुवाका लागि कांग्रेस नेत्रृत्वलाई गुहार्दै आएका थिए।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले कार्कीको काज सरुवाका विषयमा आफूलाई केही पनि थाहा नभएको बताए। १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पशुपति उपाध्यायले पनि यस विषयमा खुलेर कुरा गर्न चाहेनन्। ‘गुण्डागर्दी नियन्त्रण गर्न खोजेकै कारण सरुवा गरिएको चाहिँ हैन,’ उनले भने, ‘प्रहरी भित्र केही समायोजन गर्नु पर्ने विभागीय कारणले सरुवा गरिएको हुन सक्छ।’ उपाध्यायले पनि माथिकै आदेश अनुरुप कार्कीको काज सरुवा गरिएको बताए।