
ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको लेकफर्साका गिरबहादुर परियार छन् । अपराधलगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी राईले बताए । उनले भने, ‘सुर्खेतमा पक्राउ परेका छन् । ललितपुरतिर ल्याउँदैछौं ।’
यसअघि ४ असोजमा नग्न अवस्थामा अन्दाजी ४० वर्षीय खगेश्वरा दमाईको शव भेटिएको थियो । प्रारम्भमा शवको सनाखत हुन नसकेपछि गाउँमा सोधपुछ गर्ने क्रममा दुवै जनासँगै २१ माघमा काम खोज्दै स्थानीय एक कृषि फर्ममा पुगेको खुलेको थियो । फार्मकै अधिकारीले शवको सनाखत गरेका थिए । अनुसन्धान अधिकृतका अनुसार शवको पछाडिपट्टी निल डाम देखिन्छ भने कपडा पनि अपराधस्थलको विभिन्न क्षेत्रमा छरिएको थियो ।
उनीहरु पतिपत्नी भएको जनाइएको छ । यद्यपि, हत्या कसरी भयो भन्ने खुलिसकेको छैन । हालसम्म हत्याको कारणबारे पनि प्रहरीले खुलाएको छैन ।