
नेपाल राष्ट्र बैंकले उपत्यकाबाहिरका दुई कार्यालयमा कार्यकारी निर्देशकको दरबन्दी हुने व्यवस्था गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले प्रदेश नम्बर एकको विराटनगर कार्यालय र प्रदेश २ को विरगञ्ज कार्यालयमा कार्यकारी निर्देशकलाई कार्यालय प्रमुखको रुपमा खटाउने निर्णय गरेको हो ।
यस अघि यि कार्यालयहरुमा निर्देशक नै कार्यालय प्रमुख रहने व्यवस्था थियो । कार्यकारी निर्देशक विशिष्ट श्रेणी हो भने निर्देशक पद प्रथम श्रेणी हो ।
अन्य ठाउँको तुलनामा विराटनगर र विरगञ्ज कार्यालयको भूमिका धेरै हुने भएकाले विशिष्ट श्रेणीको दरबन्दी राख्ने निर्णय गरिएको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए ।
नयाँ सञ्चालकमा ढुंगाना
सोमबार साझ बसेको सञ्चालक समिति बैठकले अर्थसचिव शिशिर ढुंगानालाई सञ्चालकको रुपमा स्वागत समेत गरेको छ । अर्थमन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक रहने कानूनी व्यवस्था अनुसार ढुंगानालाई गभर्नर तथा सञ्चालक समितिका अध्यक्ष डा. चिरञ्जीवि नेपालले स्वागत गरे ।
यस अघि अर्थमन्त्रालयको प्रतिनिधित्को गर्दै तत्कालिन डा. राजन खनाल सञ्चालक थिए । २२ माघमा खनाल अवकाश भएसँगै एक सञ्चालक समिति पद रिक्त थियो ।