
धनुषाको महेन्द्रनगरमा एक प्रहरी निरिक्षकसहित ३ जनाको ज्यान जाने गरि भएको घटनाका मुख्य आरोपीमध्येका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेत्रबिक्रम चन्द(विप्लव) समूहका प्रदेश २ ब्युरो सदस्य इन्दलप्रसाद साह पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुरमा एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा साहलाई पक्राउ गरेको हो । धनुषाको धनुषाधाम नगरपालिका–६ सरस्वतीपुर निवासी ३४ वर्षीय साह केही महिनाअघि प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको मृत्यु हुनेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटका योजनाकार समेत रहेको प्रहरीको आरोप छ ।
साहबिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दर्ता भएकोले उनलाई कार्वाहीका लागि धनुषा पठाइएको प्रहरी निरीक्षक केसीले बताए । बम विष्फोटको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले अहिलेसम्म आदम राईसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।