जुमानु राईकाे ह्याट्रिकमा पुलिसकाे जित…

In खेलकुद
१ फाल्गुन २०७६, बिहीबार १२:३४

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
याे संस्करणकाे लिगमा छैटौँ जित निकालेको पुलिस २० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । अब जावलाखेल र मनाङको अन्तिम खेलले पुलिसको पनि तालिकामा पाँचौँ या छैटौँ स्थानमा रहने पक्का गर्नेछ ।
एन्फा मैदानमा भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई तीन–शून्य गोल अन्तरले पराजित गरेको हो । पुलिसको जीतमा जुमानु राईले ह्याट्रिक गरे । जुमानु याे संस्करणकाे लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी समेत बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पुलिसका लागि जुमानुले तीन गोल नै दोस्रो हाफमा गरेका थिए । उनले ४९, ५६ र ८६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।
याे खेलमा पराजित भएको फ्रेण्ड्स १४ अङ्कसहित १०औँ स्थानमा छ ।