
पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो ।
स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित गरी यही माघ ९ देखि ११ गतेसम्म कालिञ्चोक क्षेत्रमा आधारभूत स्की तालीम तथा महोत्सव गरी प्रतियोगितासमेत गरिने भएको हो । स्की तथा स्नो बोर्ड प्रतिष्ठानलका अध्यक्ष उत्सव पाठकले मङ्गलबार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा दोलखाको पर्यटन विकास गर्न महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । ‘नेपालमा स्की खेलको सम्भावना छ’ भन्ने देखाउन पनि प्रतियोगिता गरिने उनले बताए ।