460 views 3 secs 0 comments

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु…

In देश
२४ पुष २०७६, बिहीबार १५:१०

उदयपुर, मकवानपुर र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
उदयपुरको ताप्ली गाउँपालिका-२ धपेनीस्थित सडकमा मे.१ज. २६६२ नम्बरको जीप बुधबार साँझ अनियन्त्रित भइ दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गाडी धनी झापा विर्तामोड बस्ने३३ वर्षीय महेन्द्र राई र गाडीमा सवार ताप्ली गाउँपालिका-२लेकगाउँ बस्ने २६ वर्षीय मिलन राई रहेका छन् ।
दुर्घटनामा घाइते भएका चालक उदयपुर ताप्ली गाउँपालिका-१ ओख्ले २१ वर्षीय कोमल राज मगर सहित ४ जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ । अनियन्त्रित भइ जीप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
यस्तै उदयपुरको त्रियुगा नगरपालिका-१० स्थित सडकमा स.१ ह. ३८११नम्बरको अटोरिक्शा अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा सोही नगरपालिका-७ बस्ने २० वर्षीया सीमा दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी सीमाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य ३ जना मध्ये १ जनालाई थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ ।
यस्तै मकवानपुरको बाग्मती गाउँपालिका-४ बुद्धचोकस्थित सडकमा बुधबार साँझ ना.६१प. ७९१८ नम्बरको मोटरसाइकलको ठक्करबाट ३ वर्षीया बालिका अमृता थिङको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थिङको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै डोटीको जोरायल गाउँपालिका-१ घोरडीस्थित सडकमा ना.३ ख. ६५८८ नम्बरको ट्रक अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक बाँके कोहलपुर ३७ वर्षीय अमर गिरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।