
प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले यादवलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।
घटना पीडित न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् । उनी स्थानीय तहको निर्वाचनमा बरहथवा नगरपालिकाबाट मेयर पदका लागि उम्मेवार बनेका थिए । तर, ९ हजार ९ सय ९९ मत ल्याएर तेस्रो स्थानमा रहे भने तत्कालीन माओवादी केन्द्रका देवानन्द महतो ७ हजार ३ सय ८ मत ल्याएर मेयरमा निर्वाचित भए ।
यादवले सर्लाहीका रामप्रवेश महतो, सुरेश शाह, सहदेव राय, मोह शाह, पिताम्बर महतो, बिकाउ ठाकुर, राजुप्रसाद कुसवाह, कपुरी ठाकुर लगायतलाई चर्को ब्याजदरमा ऋण दिएका थिए ।
उनीहरुमध्ये सुरेशले ६० हजार रुपैयाँ ऋण लिएर ७ लाख ४२ हजार रुपैयाँ तिरिसकेका छन् । तर, अझै ऋण चुक्ता नभएको भन्दै जग्गा समेत कब्जा गरिएको पीडितको गुनासो छ ।