
बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ।
गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो।
दुवै मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए। निकुञ्जले यसअघि कीरिया खर्चका लागि मृतकका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो।
संरक्षित जनावरबाट भौतिक तथा मानवीय क्षति रोक्ने विविध उपाय अपनाउँदै आइएको निकुञ्जले जनाएको छ। उनले भने, ‘हरेक दुःख, सुखमा निकुञ्ज प्रशासनलाई स्थानीयले साथ दिएका छन्, आगामी दिनमा दिनेछन् भन्ने अपेक्षा गरेका छौँ।’